काठमाडौं : नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमविरुद्ध दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले उक्त आदेश संविधान र प्रेस स्वतन्त्रताका मर्मविपरीत भएको ठहर गरेको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिट निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको थियो । आदेशमा अनलाइनहरूलाई ‘अप्रमाणित, तथ्यहीन समाचार’ प्रकाशन, प्रसारण नगर्नू, प्रकाशित समाचार हटाउनू भन्ने निर्देशन दिइएको छ ।
तर महासंघले यस्तो आदेश प्रेस काउन्सिल नेपालको कानुनी अधिकार क्षेत्र अतिक्रमण भएको जनाएको छ । “सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार हो,” विज्ञप्तिमा उल्लेख छ ।
महासंघले नेपालको संविधान २०७२ ले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै अदालतको आदेशले संवैधानिक मर्म उल्लंघन गरेको उल्लेख गरेको छ । “लोकतन्त्रमा न्यायालयको निर्णय पालना गर्नुपर्छ भन्नेमा महासंघ दृढ छ र सम्मान समेत गर्दछ । तर, प्रेस स्वतन्त्रता कुण्ठित हुने खालको आदेशप्रति आपत्ति जनाइन्छ,” महासंघले जनाएको छ ।
महासंघले उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने चेतावनी पनि दिएको छ । साथै, पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै समाचार प्रकाशन–प्रसारणमा सत्यता र जिम्मेवारी कायम राख्न सञ्चारमाध्यमलाई समेत आग्रह गरिएको छ ।