२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

जुम्लाको सिंजामा पोषण प्रदर्शनी मेला

shivam cement
दिलमाया शाही
२०८२ असार ६ गते २१:०३
जुम्लाको सिंजामा पोषण प्रदर्शनी मेला

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकामा ‘पोषण नै बल, शिक्षामा सफल’ भन्ने मूल नारासहित पोषण प्रदर्शनी मेला सम्पन्न भएको छ । सुनौला हजार दिनका बालबालिका र आमाहरूको स्वस्थ जीवन निर्माण गर्नका लागि उक्त मेला आयोजना गरिएको हो ।

सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाका अनुसार पेस नेपाल जुम्ला, सिंजा गाउँपालिका र प्लान ईन्टरनेशनलको सहयोगमा मेला सञ्चालन गरिएको हो । मेलामा स्थानीय उत्पादन र रैथाने बालीबाट विभिन्न परिकार बनाएर प्रदर्शन तथा खुवाइएको थियो । जसले बालबालिकामा कुपोषण घटाउने अभ्यासलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

मेलामा पोषणसँग सम्बन्धित विभिन्न स्टलहरूको अवलोकन सरोकारवालाहरूले गरेका थिए । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार ‘हरेक बार खाना चार’ भन्ने मान्यताअनुसार सुनौला हजार दिनका बालबालिकाका लागि कुखुरा र खसीको मासु, पोषिलो जाउलो र रैथाने बालीहरूको प्रदर्शन गरिएको थियो ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले पोषण तथा खाद्य सुरक्षामा सबै तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘हामीले आ–आफ्नो आनीबानीमा परिवर्तन गरे विस्तारै घर–परिवार हुँदै गाउँसम्म सुधार ल्याउन सकिन्छ ।’ उनले पेस नेपालले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता  खालका सकरात्मक पहलले सिंजा क्षेत्रमा छोटो समयमै सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले गर्भावस्थाबाट दुई वर्षको उमेरसम्मको अवधिलाई बालबालिकाको मानसिक र शारीरिक विकासका लागि अत्यन्तै संवेदनशील समय रहेको उल्लेख गरे । उनले भने, ‘पहिले हामी नुनको धुलो रोटी खाँदा पनि हुन्छ भन्ने सोचको समाज हौँ, तर अहिले हामी पोषणको महत्व बुझाउन थालेका छौँ ।’ उनले गर्भवती आमा र सुत्केरी महिला तथा बालबालिकालाई सन्तुलित आहार (फलफूल, हरियो सागपात, प्रोटिनयुक्त खाना, आइरन, फोलिक एसिड आदि) उपलब्ध गराउने जिम्मेवारी सबैको रहेको बताए ।

त्यस्तै, सिंजा गाउँपालिका कार्यकारी अधिकारी टेकबहादुर शाहीले बालबालिकाका लागि पोषण सम्बन्धी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, ‘यो एक सकारात्मक र दूरदर्शी कदम हो, बालबालिकाको शारीरिक र मानसिक विकासको लागि पोषण अत्यन्त आवश्यक रहेकोले पेस नेपालले गरेको काम राम्रो छ ।’

मेला कार्यक्रमका प्रमुख अतिथि गौरीनन्द आचार्यले हात धोएर कार्यक्रमको उद्घाटन गरेका थिए भने समापन गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सरसफाइ गर्दै झाडू लगाएर गरेका थिए । यस प्रदर्शनी मेलामार्फत् पोषण सम्बन्धी जनचेतना अभिवृद्धि हुनुका साथै स्थानीय उत्पादनको महत्व र उपयोगिता समेत उजागर भएको आयोजकको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise