रोल्पा : परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ४४ लाख ४८ हजार ३ सय २० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९औं गाउँसभामा बजेट र नीति कार्यक्रम प्रस्तुत गरी बहुमतले पारित गरिएको हो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष हरिप्रसाद बुढा मगरका अनुसार संघीय सरकारबाट ४४ करोड ६२ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ । त्यसमा समानीकरण, शर्तसहितको चालु र पुँजीगत अनुदान, विशेष र समपुरक अनुदान तथा राजस्व बाँडफाँट समावेश छन् ।
यस्तै, लुम्बिनी प्रदेश सरकारबाट पनि ३ करोड ४६ लाख रुपैयाँभन्दा बढी बजेट प्राप्त हुने जनाइएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीबाट ३६ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
कुल बजेटमध्ये २९ करोड २८ लाख रुपैयाँ (६०प्रतिशत) चालु खर्चतर्फ र १९ करोड १६ लाख रुपैयाँ (४०प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
वडागत आधारमा न्यूनतम १६ लाखको अनिवार्य अनुदानसहित भूगोल, जनसंख्या र राजस्व अवस्थाका आधारमा योजना छनोट गरी १ करोड ५० लाख विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ छुट्याइएको ६० लाख रुपैयाँ पनि सूत्रअनुसार वडामा बाँडिएको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, रोजगारी, पूर्वाधार, विपद् व्यवस्थापन, सूचना प्रविधि, लैङ्गिक समानता, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा बजेट केन्द्रित गरेको छ ।
गाउँसभामा कार्यक्रम र बजेटमाथि केही सदस्यहरूले जिज्ञासा राखे पनि जवाफ प्राप्त भएपछि सबै सदस्यहरूले तालिम बजाएर कार्यक्रम पारित गरेका थिए ।
आर्थिक ऐन वडा नं. ५ का अध्यक्ष दिलबहादुर वली र विनियोजन ऐन वडा नं. ३ का अध्यक्ष खिम विक्रम चन्दले प्रस्तुत गरेका थिए । वडास्तरीय कार्यक्रमको शुल्क १५ सयबाट घटाएर १ हजार बनाउने प्रस्ताव पनि पारित गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कलादेवी खत्रेनी, सचिव प्रेम जि.एम, लेखा अधिकृत ध्रुवराज न्यौपाने, विषयगत शाखा प्रमुख, वडाका सचिव, सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।