काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार आएको छ । गत वर्षको तुलनामा सुधार आएको विवरणसहित राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार, एसईईमा सहभागी परीक्षार्थीमध्ये एक लाख ६७ हजार ५९७ जना नन ग्रेडेड छन् । कुल परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।अर्थात, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा यसवर्ष बढेर ६१.८१ पुगेको हो । नतिजा अनुसार गत वर्षभन्दा यस वर्ष १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार आएको छ ।
नतिजा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी प्रकट गरेका छन् । एसईई परीक्षा उत्तीर्ण हुनेहरूलाई उनले बधाई पनि दिएका छन् ।
एसईई उत्तीर्ण हुने परीक्षार्थीलाई सामाजिक सञ्जाल मार्फत् बधाई दिएका प्रधानमन्त्रीले नतिजा सुधार भएको भनेर जस पनि लिएका छन् ।
‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘...बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनतले काम लागेको छ ।’
राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना रहेका छन । ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जीपीए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
गणितमा धेरै फेल
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार धेरै विद्यार्थी गणितमा कमजोर देखिएका छन् ।
गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो ।
अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१ ननग्रेडेड भएका छन् । नेपाली थ्योरीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६ ननग्रेडेड भएका छन् । अर्थशास्त्रमा ४२ हजार १५० र अप्सनल म्याथमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको पनि बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
२९ साउनदेखि मौका परीक्षा
एसईईमा नन ग्रेड भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने छन् । साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका हुन् ।
परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डलेले शुक्रबार एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।