काठमाडौं : प्रत्येक २ महिनामा बैठक बस्ने निर्णय गरेपनि ९ महिनापछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकको पहिलो दिनमै नेतृत्वमाथि प्रहार भएको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगै प्रतिस्पर्धा गरेका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीले गत आम निर्वाचनयता गरेका हरेक निर्णयमाथि प्रश्न उठाए ।
सुरुमै पार्टीको १५औँ महाधिवेशन २०८२ साल मंसिरमा हुन नसक्नुको कारण माग गरेका नेता कोइरालाले सत्ता गठबन्धन, पार्टीको अनुशासन समिति र भ्रातृ संस्थाकाबारेमा केन्द्रित भएर आफ्नो कुरा राखेका थिए ।
आगामी १५औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीकासाथ देश दौडाहामा लागेका नेता कोइरालाले पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका विषयमा स्पष्ट जवाफ दिनु् पर्ने माग गरे ।
उनकै समूहबाट महामन्त्री बनेका युवा नेता गगन थापा पार्टी सदस्यता व्यवस्थापन र संगठन प्रमुख छन् । तर महाधिवेशनको जग मानिएको क्रियाशील सदस्यता नवीकरण र वितरणको प्रगति सन्तोषजनक छैन् । पछिल्लो समय शेखर–गगनसमेत फरक–फरक कार्यक्रम लिएर भूगोल केन्द्रित छन् । उनीहरूको यो अभियानले दुवै नेताहरू १५ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार हुने स्पष्ट संकेत गरेको छ ।
सभापति देउवा आफू प्रधानमन्त्री नभई पार्टीको नेतृत्व छाड्न चाहँदैनन् । त्यसकारण पनि महाधिवेशन २०८३ अघि नहुने करिब पक्का भएको नेताहरू बताउँछन् । ‘पार्टीको क्रियाशील सदस्यतालगायत महाधिवेशनको तयारी भएको छैन्’ पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मध्यान्हसँग भने ‘तर, पार्टीको विधान अनुसार महाधिवेशन हुन्छ । केही नेताले २०८२ मै हुनुपर्छ भन्दैमा महाधिवेशन भइहाल्छ भन्ने छैन । पहिला पार्टी संगठन बलियो बनाउने, महाधिवेशनका न्यूनतम तयारी गर्ने कुरामा यो समूह त्यो समूह नभनी सबै लागौं, महाधिवेशन समयमै हुन्छ ।’
उनले नेता कोइरालाप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । पार्टी विधानले दिएको १ वर्ष र संविधानले दिएको ६ महिना कार्यकाल थप्ने विषयमा पार्टी पदाधिकारी र देउवा पक्षका नेताहरू सकारात्मक छन । तर नेता कोइराला समूहले महाधिवेशन सर्नुपर्ने कारण माग गर्दै आएका छन् ।
कोइरालाले सोमबार पार्टी बैठकमा सभापति र पदाधिकारी लक्षित थुप्रै टिप्पणीहरू गरे । संस्थापन पक्षबाट कोइरालाको आवाज नसुन्ने प्रवृत्ति बढेपछि कोइराला आक्रामक बनेको नेताहरूको बुुझाइ छ ।
कोइरालाले भने आफू भागबण्डाको राजनीति नगर्ने बताउँदै पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै फरक मत नराखेको जिकिर गरे । आफ्नो सहनशीलता र भद्रतालाई कमजोरी नठान्न कोइरालाले पार्टी नेतृत्वलाई चेतावनीसमेत दिए । देउवा समूहका केन्द्रीय सदस्य नैनसिंह महरले पनि पार्टीको महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिए ।
शेखरका दर्जन बढी प्रश्न
पार्टी बैठकमा कोइरालाले २०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा गएपनि अहिले एमालेसँग सत्ता गठबन्धन गर्नुको कारण माग गरे । ‘२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’, उनले प्रश्न गर्दै भने, ‘मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? संविधान संशोधनका लागि यो सत्ता गठबन्धन बनेको हो भने ७ बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चितबुझ्दो जवाफ दिनुपर्छ ।’
एमालेको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने पटक पटक दबाब दिँदा पनि एमालेलाई सत्ताको साँचो सुम्पिएको उनको आरोप छ । कोइरालाले पार्टीको अनुशासन समितिमाथि समेत प्रश्न उठाएका छन् । केन्द्रीय समितिभन्दा बाहिरका वरिष्ठ नेताहरूलाई अनुशासन समितिमा राख्नुपर्ने उनको सुझाव छ ।
‘अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका वरिष्ठ साथीहरूलाई राख्नुपर्छ’, उनले भने ‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्यलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदोरहेनछ ।’ यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न नसक्ने दाबी गरेका नेता कोइरालाले एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको र कसैलाई निलम्बन गर्ने प्रस्तावले कारबाहीमा विभेद भएकोमा आपत्ति जनाए ।
निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार कार्यकर्तालाई टिकटबाट वञ्चित गरिएकाहरूलाई नै अनुशासन कारवाहीको कैँची चलाएर फेरि उनीहरूको राजनीति समाप्त गर्न खोजिंएको भन्दै नेता कोइरालाले पार्टी सभापति तथा पदाधिकारीको ध्यानाकर्षण गराएका छन् । सर्वोच्च अदालतले दोषी किटान गरेका सर्लाहीका पार्टी सभापतिलाई पदबाट नहटाएको विषयसमेत बैठकमा उनले उठान गरेका छन् । यो घट्नाले कांग्रेसलाई कति क्षति पुग्दैछ भन्ने कुरा सभापति र पदाधिकारीले बुझनु पर्ने उनको तर्क छ ।
त्यस्तै केन्द्रीय सदस्य. विनोद चौधरीको योग्यतामाथिसमेत प्रश्न उठेको छ । चौधरीको क्रियाशील सदस्यता १० वर्षे अवधि नपुुगेकाले उनलाई केन्द्रीय सदस्य बनाउनु अवैधानिक भएको उनको तर्क छ । त्यस्तै नवलपरासीमा २४ भदौ २०८० मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले विपी.कोइरालाको शालिक अनावरण गर्ने कार्यक्रम र १७ मंसिर २०८१ मा सप्तरीमा विपी कोइरालाको शालिक अनावरणमा आफूलाई केन्द्रीय नेता र पूर्वमन्त्रीहरूले नै बहिष्कार गरेको विषयलाईसमेत उनले स्मरण गराए । विपी कोइरालाको शालिक अनावरणमा अवरोध गर्नेहरूलाई अनुशासनको कारबाही हुनुपर्ने उनको माग छ ।
नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघको अवधि जति थपेपनि अधिवेशन हुन्छ भन्नेमा अविश्वास व्यक्त गरे । ‘तरुण दलको अनसन र नेविसंघको प्रदर्शनलाई सम्बोधन गरेर जानु पर्ने उनले बताए । नेपाल दलित संघको ४२ जिल्ला विघटन गरिएकोप्रति असन्तुष्ट व्यक्त गर्दै नेता कोइरालाले भने ‘दलित संघका अध्यक्षलाई जिल्ला विघटनको अधिकार कसले दियो ? यसको जवाफ चाहियो ।’
१३ एजेन्डामाथि छलफल
केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरूका प्रतिवेदनसहित १३ वटा एजेन्डामाथि छलफल जारीे छ । पार्टीले केही समय अघि गरेको १ सय दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन र क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण लगायतका विषयमा कांग्रेसले बैठकका एजेन्डा तय गरेको छ ।
त्यस्तै, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय लिने, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार, शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा)को नाम संशोधन सम्बन्धमा पनि छलफल भइरहेको हो ।
त्यस्तै, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित, संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिता विषयमा मन्त्रीहरूको प्रतिवेदनसहित छलफल हुने जनाइएको छ । त्यस्तै, समसामयिक विषय अन्तर्गत राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक र विविध विषयमा छलफल भइरहेको छ । बैठक केही दिन चल्ने कांग्रेसले जनाएको छ ।