बझाङ : बझाङको प्रगतिशील युवा समाजद्वारा सञ्चालित ‘विपद् जोखिम न्यूनीकरण’ र ‘थलारा शिक्षा परियोजना’ को सामाजिक परीक्षण सम्पन्न भएको छ । परियोजनाहरूको प्रभावकारिता, पारदर्शिता, र जवाफदेहिताको मूल्यांकन गर्न गरिएको कार्यक्रममा स्थानीय तह, विद्यालय, सरोकारवाला निकायहरू, नागरिक समाज, शिक्षक, अभिभावक र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले दुवै परियोजनाको उद्देश्य, मुख्य गतिविधिहरू, बजेट खर्च तथा प्राप्त उपलब्धिहरू सार्वजनिक रूपमा प्रस्तुत गर्दै विपद् न्यूनीकरण अन्तर्गत पूर्वतयारी तालिम, सचेतना कार्यक्रम, उद्धार सामग्री वितरण र स्थानीय योजनामा समावेशीकरण प्रक्रियाबारे विस्तृत जानकारी दिए ।
त्यस्तै थलारा शिक्षा परियोजना अन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थीको नियमितता वृद्धिदेखि विद्यालय–समुदाय समन्वय मजबुत बनाउने प्रयासबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । थलारा शिक्षा परियोजनाको प्रगति प्रतिवेदन छत्रराज जोशीले र विपद् न्यूनीकरण परियोजनाको प्रतिवेदन राजेन्द्र खड्काले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रमेश केसीले सामाजिक परीक्षणमार्फत संस्थाको उत्तरदायित्वमा समुदायको प्रत्यक्ष निगरानीले अझ पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार जगदीश रोकायाले सहजकर्ताको भूमिका निर्वाह गर्दै सरोकारवालासँग छलफल गरी महत्वपूर्ण सुझावहरू संकलन गरेका थिए ।
थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष रामबहादुर खाती, वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतको सक्रिय उपस्थिति रहेको कार्यक्रममा शिक्षक शिवराज जोशीले संस्थाको पारदर्शी, समुदायमुखी तथा प्रभावकारी कामको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
सामाजिक परीक्षण कार्यक्रमले समुदायलाई संस्थाको कामप्रति प्रत्यक्ष निगरानी गर्ने अवसर प्रदान गर्नुका साथै विकास प्रक्रियामा नागरिक सहभागिता अझ सुदृढ बनाएको निष्कर्ष निकालिएको छ ।