
रौतहट : बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् भने आक्रोशित प्रदर्शनकारीहरूले नौवटा मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पताल भवनमा तोडफोड गरेका छन् ।
यस हिंस्रक घटनापछि अहिले फेटा क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त संवेदनशील बनाइएको छ र तनावग्रस्त बनेको छ ।
फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल भवनको उद्घाटनका लागि विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
तर अस्पताल भवन निर्माण भए पनि त्यहाँ आवश्यक पर्ने आधारभूत भौतिक पूर्वाधार नियमित विद्युत् आपूर्ति, अत्याधुनिक स्वास्थ्य उपकरण तथा पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए ।
जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा विना तयारी हतारमा उद्घाटन मात्र गर्न खोजिएको स्थानीयको आरोप थियो ।
अस्पताल पूर्ण रूपमा तयार गरी नियमित स्वास्थ्य सेवा सुचारु गर्न सक्ने वातावरण बनाएपछि मात्र उद्घाटन गरिनुपर्ने उनीहरूको माग रहँदै आएको छ ।
स्थानीय बासिन्दाले उठाएका जायज मागहरूलाई बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जबर्जस्ती उद्घाटन कार्यक्रम अगाडि बढाउन खोजेपछि विरोध प्रदर्शन तीव्र बनेको हो ।
गाउँपालिकाको कार्यक्रमस्थल वरपर विरोध प्रदर्शन चर्किंदै गएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो ।
परिस्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय गण्डकका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले हिंसात्मक रूप लियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर फेटा गाउँपालिका वडा नम्बर–३ निवासी धर्मेन्द्र पासवानका करिब १८ वर्षीय छोरा आदित पासवान गम्भीर घाइते भएका छन् ।
उनको पेटमा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइते युवकलाई तत्कालै उपचारका लागि वीरगन्जतर्फ लगिएको छ भने उनको स्वास्थ्य अवस्था बारे थप विवरण आउन बाँकी छ ।
झडपका दौरान आक्रोशित प्रदर्शनकारीहरूले गाउँपालिकाको कार्यक्रममा सहभागी हुन आएका व्यक्तिका तथा अन्य गरी नौवटा मोटरसाइकलमा आगजनी गरी पूर्ण रूपमा क्षति पुर्याएका छन् ।
यसका साथै नवनिर्मित अस्पताल भवनमा समेत ढुंगामुढा प्रहार गरी तोडफोड गरिएको छ ।
आगजनी र तोडफोडबाट भएको कुल आर्थिक क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।
घटनास्थलमा गोली कसको आदेशमा र कुन परिस्थितिमा चल्यो भन्नेबारे स्थानीय प्रशासन र प्रहरीले आधिकारिक रूपमा प्रस्ट पार्न बाँकी छ ।
स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रसँग जोडिएको संस्थामा पूर्वाधार सुनिश्चित नगरी राजनीतिक दबाबमा उद्घाटन गर्न खोज्दा यस्तो अप्रिय घटना घटेको स्थानीयको गुनासो छ ।
गाउँपालिका नेतृत्वले जनताका जायज माग र प्रश्नहरूको उचित सम्बोधन नगरेका कारण नै सामान्य विवादले ठूलो द्वन्द्वको रूप लिन पुगेको बुद्धिजीवीहरूको ठहर छ ।
घटना पश्चात् फेटा गाउँपालिकामा सम्भावित थप झडप तथा तनावलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
क्षेत्रको सुरक्षा अवस्थालाई कडा पारिएको छ भने घटनाको वास्तविक सत्यतथ्य गोली प्रहारको परिस्थिति र समग्र क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयबाट सार्वजनिक हुने प्रतीक्षा गरिएको छ ।