२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

प्रज्ञा–प्रतिष्ठानमा भानुजयन्ती : भानुभक्तले गरेका योगदानको चर्चा

ADV
मध्यान्ह
२०८१ असार २९ गते २१:४७
प्रज्ञा–प्रतिष्ठानमा भानुजयन्ती : भानुभक्तले गरेका योगदानको चर्चा

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११ औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न भएको छ । 

भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धि विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ । यस प्रतिष्ठानले काठमाडौंमा दुई श्रष्टालाई रथारोहणसहित अभिनन्दन गर्नका साथै नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा प्रभातफेरी र श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए । 
उनले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जस्तो विभिन्न जातजातिको बसोबास भएको तथा बहुल संस्कार र संस्कृति रहेको मुलुकमा भाषाले अझ बढी महत्व राख्ने बताए । 

आदिकवि भानुभक्तकै कारण नेपाली भाषा विश्वव्यापी महत्त्वको भाषा बन्दै गएको विचार राखेका थिए । वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने पनि उनले बताए । 

सभामुख घिमिरेले आदिकवि भानुभक्तले गरेको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए । 

सभामुख घिमिरेले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रूपमा राष्ट्रलाई चिनाउनुपर्ने बताए । 

‘नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलित रूपबाट एक ठाउँमा ल्याएर विशाल राष्ट्र बनाउने र नेपाललाई झन्अगाडि बढाउन गरेको काम ऐतिहासिक महत्वको थियो । त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ’, घिमिरेले भने । 

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञानःसबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जमर्को गरिरहेको बताए । 

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा प्रतिष्ठानले दशकौंदेखि भानु प्रतिष्ठानसँग सहकार्य गर्दै आएको र सोहीको निरन्तरताका रूपमा २११ औँ भानु जयन्ती समारोह मनाइएको बताएका थिए । 

भानु प्रतिष्ठानका तर्फबाट डा. रमेश शुभेच्छुले भानु प्रतिष्ठानको इतिहास र गरेका कामहरूको जानकारी दिएका थिए । शुभेच्छुले नेपालका सातै प्रदेशका राजधानीमा प्रतिष्ठानका प्रदेश समन्वय समितिले पनि यस्ता कार्यक्रम गरिरहेको जानकारी दिएका थिए । 

उनले बोल्ने क्रममा प्रतिष्ठानको आफ्नो भवनसहितको कार्यालयको आवश्यक रहेको र त्यसका लागि पहल थालिएको बताए । 

उनले भानुभक्तका नाममा राजधानीमा संग्रहालय हुनु आवश्यक रहेको जिकिर समेत गरेका थिए । शुभेच्छुले अगाडि सारेको कार्ययोजनामा आफूले रु.१००००१ (अक्षरेपी एक लाख एक ) सहयोग गर्ने कुरा वरिष्ठ साहित्यकार प्रा.डा. नोवलकिशोर राईले सम्मानित प्रतिभाको मन्तव्यका क्रममा बताएका थिए । राईले भानु प्रतिष्ठानले आफूलाई सम्मान गरेर भानुभक्त प्रतिको श्रद्धाका साथै नेपाली भाषाका लागि थम काम गर्ने अभिप्रेरणा जागृत भएको बताए ।

त्यस्तै सम्मानित प्रतिभा साहित्यकार माया ठकुरीले सम्मानित भएकामा खुसी व्यक्त गर्दै यो नेपाली नारीहरूको पनि सम्मान भएको बताइन् । सो समारोहमा डा. राई र ठकुरीलाई रथारोहण गराइ नगर परिक्रमा गराउनका साथै अभिनन्दनपत्र प्रदान गरिएको थियो । उनीहरूमा समर्पण गरिने विशेष अभिनन्दन पत्र उषा भट्ट र दुर्गा नेपालले वाचन गरेका थिए । 

समारोहमा भानु प्रतिष्ठानका तर्फबाट २०१० औँ भानुजयन्तीका सन्दर्भमा गतवर्ष उत्कृष्ट झाँकीसहित सहभागी विद्यालयमध्ये प्रथम हुने सूर्योदय सेकेन्डरी स्कुल,द्वितीय हुने क्याम्ब्रिज पब्लिक स्कुल, काठमाडौं र तृतीय हुने ग्लोबल स्कुल एन्ड कलेज, काठमाडौंका साथै प्रोत्साहन स्थानमा अन्नपूर्ण मा.वि, काठमाडौं र कान्तिभैरव गुरुकुल, काठमाडौंलाई पुरस्कृत गरिएको थियोे । प्रमुख अतिथिले विद्यालयका प्रतिनिधिलाई पुरस्कारको प्रमाणपत्र प्रदान गरेका थिए भने भानु प्रतिष्ठानबाट पत्रे रामायण र भानुभक्तको तस्बिर सभाध्यक्ष डा. लम्सालले प्रदान गरेका थिए । 

यस वर्ष विभिन्न २० विद्यालय र्यालीमा सहभागी भएका थिए । तीमध्ये निर्णायक मण्डलले प्रथम स्थानमा अन्नपूर्ण मा.वि कान्तिपथ, द्वितीय हुने सूर्योदय मा.वि घट्टेकुलो, तृतीय कान्ती भैरव गुरुकुल, गोकर्ण, चतुर्थ ग्लोबल पब्लिक स्कुल र ज्ञानदीप शिक्षा सदन भएको निर्णय घोषणा गरेको थियोे । ती विद्यालयलाई आगामी २१२ औँ भानुजयन्ती समारोहमा पुरस्कृत गरिने जानकारी प्रतिष्ठानका उपाध्यक्ष ऋषभ घिमिरेले गराएका थिए । 

ट्राफिक प्रहरीको भ्यानसहित नेपाली सेनाको नौमती बाजा नेपाली सेनाको बग्गी (बग्गीमा भानुभक्तको तस्बिर र सम्मानित साहित्यकारहरू), नेपाल प्रहरीको ब्यान्ड बाजा गुरुज्यूको पल्टनको बाजासहित नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौंको संयुक्त नामाङ्कित मूल ब्यानरसहित शोभायात्रा गरिएको थयो । शोभायात्रामा जनपद प्रहरी, सशस्त्र प्रहरी,नेपाल स्काउट, विभिन्न विद्यालयका विद्यार्थीहरू संलग्न भएका थिए । प्रभातफेरी कार्यक्रममा ब्रिलियन्ट एजुकेसनल मा.वि चाबहिल, ग्गोबल पब्लिक स्कुल पेम्सिकोला, क्याम्ब्रिज पब्लिक हाइस्कुल, पुरानो बानेश्वर, रिभेरा इन्टरनेसनल स्कुल चाबहिल, ह्वित किट्न इन्टरनेसनल स्कुल विशालनगर, कान्तिभैरव गुरुकुल गोकर्ण, सूर्योदय आवसीय मा.वि घट्टेकुलो, हेम्स स्कुल रातोपुल, एपेक्स लाइफ स्कुल सरस्वतीनगर, विनायक शान्ति निकेतन स्कुल थापाथली, अन्नपूर्ण मा.वि, कान्तिपथ, प्रस्फुटन स्कुल सिनामंगल, लुम्बिनी एकेडेमी स्कुल चुच्चेपाटी, ज्ञानदीप शिक्षासदन गौरीघाट, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, अनमोलज्योति स्कुललगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष एवम् भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्सालले सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise