
मनसुनले पऽऽऽरबाट सुस्तरी हात हल्लाउदै गर्दा
स्वाभिमानले मन–मस्तिष्कलाई झस्काउँदै गर्दा
फोहोरको डुंगुरले सबै–सबैलाई जिस्क्याउदै गर्दा
जब नातिपुस्ता हातमा कुचो बोकेर निस्किए
ठीक त्यही बेला—
मुटु छेड्ने सिरेटोको लहर चल्यो
अहंकारी बञ्चरोको कहर चल्यो
न दिन ‘काम’ बन्यो, न रात ‘विश्राम’ बन्यो।
ज्वारभाटा उठ्दै–बस्दै गरेको मन
मध्यान्ह पछिको भेडेटारझैँ
द्रवित–द्रवित रह्यो
यस पटकको दशैं यसरी नै गयो।
न सम्पूर्ण रूपमा खुसी साट्न सकियो
न ‘टीकाटालो नगर्ने’ भनी आफैंलाई ढाट्न सकियो
समय—उपहारको ‘आईफोन’ बिनाको
मुलुक–यात्राजस्तै भयो
मनस्थिति—दुवै हात बाँधिएका
आप्रवासीको जात्राजस्तै रह्यो
यस पटकको दशैं यसरी नै गयो।
दोहोरो सवारी चलेको व्यस्त सडकमा
बाटो काट्न नसकेको पैदलयात्री बनेको—परिस्थिति
साउनको भेलमा राप्ती तर्न
डुङ्गा कुर्दै किनारमा बसेको बटुक बनेको—वस्तुस्थिति।
सबै-सबैले एकैपटक जिस्क्याउँदा
युद्धमा हारेको सिपाहीलाई
बिना पेन्सन घर पठाइएजस्तै भयो
यस पटकको दशैं यसरी नै गयो।
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा