
जीवन दर्शन सिकाइरहने
पहेँलपुर धानका फाँटहरूसँग
प्रेममा रमाएको सुवासित पवन
सुस्तरी मधुर सङ्गीतमा भन्दै छ
मैले तिहारलाई सुवासिलो बनाएको छु
सुगन्धित अत्तर दिएर ।
रहस्यमय प्रकृतिको अस्तित्वबोध गराइरहने
सयपत्री, गोदावरी र मखमली
सुगन्धित बैँसालु उमङ्गमा रमाउँदै भन्दै छन्
हामीले सजाएका छौँ
फूलहरूको पर्व तिहारलाई ।
उज्यालो र अँध्यारो बीचको सहअस्तित्वलाई
आत्मसाक्षात्कार गर्दै प्रज्वलित दीप
जगतलाई प्रकाशमय बनाउँदै
मानवहृदयमा ज्ञान, चेतना र आत्मजागरणको
बाती कात्न सिकाउँदै भन्दै छ
मैले झिलिमिली बनाएको छु
हर्ष र उत्साहको तिहारलाई ।
जीवन, दर्शन, कर्तव्य र श्रमका पाठ सिकाउँदै
प्रकृति, मानव र पशुपन्छी
सबै एकै लयमा गाउँदै भन्दै छन्
हामी सबैको उत्सव, आस्था र भक्ति हो तिहार ।
एउटै धागोमा उनिएका फूलजस्तै
एकता र सामूहिकताको हार्दिकतामा
दिउसी र भैलिनीहरूको आशीर्वचनहरू भन्दै छन्
हामीले आपसी सम्बन्धको सौन्दर्यले सिङ्गारेका छौँ तिहारलाई ।
सप्तरङ्गी टीकामा मिसिएका भावहरू गुन्गुनाउँदै
दाजुभाइलाई प्रेम, स्नेह र आशीष दिँदै दिदीबहिनीहरू भन्दै छन्
हामीले आत्मीय भावनाले बलियो बनाएका छौँ तिहारलाई ।
सुवासिलो पर्व तिहार
जसले प्रकृति र मानवजगतलाई एउटै गतिमा, एकै लयमा हिँड्न
छरिरहन्छ जीवनदायी ऊर्जा ।
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा