२०८२ कार्तिक ६ गते बिहिवार / Oct 23 , 2025 , Thursday
२०८२ कार्तिक ६ गते बिहिवार
Ads

दाजुभाइले एकापसमा लगाए भाइटीका

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ६ गते १४:०५
दाजुभाइले एकापसमा लगाए भाइटीका

तनहुँ : तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् । तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन् । आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् ।

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उनले फूलको माला गलामा पहिराइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए । 

विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए ।

उनले भने, “विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु ग¥यौं । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं ।” 

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । तिहारको मुख्य दिन भाइटीका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन् । 

ADV

सम्बन्धित खबर

Advertise