२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

एमाले मुख्यालयमा हलचल

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते ०६:३०
एमाले मुख्यालयमा हलचल

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतालाई लिएर नेकपा एमाले पार्टीमा हलचल मच्चिएको छ । बिहीबार पार्टीको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा नेताहरूबीच चर्काचर्की नै भयो ।  

पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि एमालेभित्र उमेर हद र दुई कार्यकालको व्यवस्थाको बहसको रापताप सुरू भएको नेताहरू बताउँछन् । आगामी भदौ तेस्रो हप्ता हुने पार्टीको विधान महाधिवेशनको पूर्वतयारी स्वरूप पार्टीको बैठक बसेर आवश्यक छलफल गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेको विधानमा भएको नेतृत्वका लागि ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्थालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समुहले हटाउन चाहेका छन् । तर, संस्थापन इतर समुहका नेताहरूले यो व्यवस्था कायम राखेर अघि बढ्नु पर्ने तर्क छ । 

पार्टी नेतृत्वको सोच बनाएर सक्रिय राजनीतिमा आएकी भण्डारीलाई रोक्न र फेरि पनि पार्टी नेतृत्वमा आफै रहने योजनासहित लागेको अध्यक्ष ओलीले विद्या भण्डारी कुनै सल्लाह विनै राजनीतिमा हाम फालेकाले उनलाई नेतृत्वमा आउन नदिने स्पष्ट जवाफ दिइसकेका छन् ।  ओलीले एक अन्तर्वार्तामा भनेका छन्’, ‘विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’

यो विषयमा पार्टी सचिवालय बैठकमा समेत चर्चा पाएको थियो । बैठकमा प्रस्तुत भएको पार्टीको विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । यद्यपि, पूर्वव्यवस्था हटाउनुपर्ने आधार र तर्कको खोजी हुनुपर्ने कुरा उठेपछि छलफल बैठकनै लम्बिएको थियो ।  

सचिवालय बैठकमा विद्या भण्डारी र जिम्मेवारीबारे औपचारिक रुपमै छलफल प्रारम्भ भएको नेकपा एमालेका सचिव योगेश भट्टराइले बताए ।  ‘भण्डारी आइसकेपछि पार्टीमा छलफल हुने र त्यो पार्टीको विषय बनेको छ’, उनले भने  ‘उहाँ पार्टीमा सक्रिय हुन आउनुहुन्छ भने ऊचित स्थान पनि दिनुपर्ला, सम्मानजनक ठाउँ पनि खोज्नुपर्ला । यो विषय पार्टीको हाइलेवलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना छ ।’ 

विद्याले आफूहरूसँग कुनै परामर्श नगरी राजनीतिमा आएको घोषणा गरेकाले यसबारे पार्टीले छिट्टै औपचारिक निर्णय लिने नेताहरूले बताएका छन् ।  अध्यक्ष ओलीले भण्डारीले राष्ट्रपति हुँदा राम्रो काम गरे पनि अहिले मर्यादा भुल्न खोजेको टिप्पणी समेत गरेका छन् ।  उनले भनेका छन्, ‘विद्याजीले राष्ट्रपति छँदासम्म संविधानको रक्षक र पालकको भूमिकामा राम्रो काम गर्नुभयो । राष्ट्रपति सेनाको परमाधिपति हो । सबैको साझा पनि हो ।’ 

सचिवालय बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने प्रस्ताव पेश भएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो । एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी छन् । अध्यक्षसहित ३ उपाध्यक्ष, एक–एक महासचिव र एक–एक उपमहासचिव तथा पाँच सचिवको प्रस्ताव संशोधित विधानमा रहेको छ । १ सय ९९ केन्द्रीय सदस्य संशोधित विधान प्रस्तावमा उल्लेख छ ।  

पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् । १० औं महाधिवेशनले केन्द्रीय कमिटी संख्या २ सय २५ बाट ३ सय १ पु¥याएको थियो । यो बीचमा मनोनीत भएका समेत गर्दा अझ बढेको छ । सचिवालय बैठकपछि  पोलिट्ब्युरो र आगामी ५ गते केन्द्रीय कमिटी बैठक बस्ने एमाले नेताहरूले बताएका छन् ।  एमालेमा यतिवेला आगामी नेतृत्वको तयारीसहित विद्या भण्डारीको सक्रिय राजनीतिले तरंगित बनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise