२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

ललितपुर महानगरले भत्कायो न्हुः पोखरीको जग्गा मिचेर बनाइएका घर

shivam cement
२०८२ भदौ २२ गते १३:२१
Shares
ललितपुर महानगरले भत्कायो न्हुः पोखरीको जग्गा मिचेर बनाइएका घर

ललितपुर : ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनधिकृत संरचना हटाएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु भत्काएको हो ।

महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले सो क्षेत्रमा रहेको संरचना भत्काएको हो ।

न्हुः पोखरीको उत्तरपूर्व भागमा मिचेर बनाइएको अनधिकृत संचरनालाई वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए । महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको छ ।

महानगरपालिकाले पोखरीको जग्गाको अतिक्रमण बढेपछि सार्वजानिक जग्गा तथा ऐतिहासिक सार्वजानिक पोखरीको संरक्षण गर्ने निति बमोजिम न्हुः पोखरीको जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको हो । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरि बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ । 

वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महागरपालिकासँग पटकपटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाए । आफूहरु पोखरीको विरोधी नभएको भन्दै उनले आफूहरुलाई विकल्प दिन आग्रह गरे ।

२०१० सालमा स्थापना भएको वुद्धि विकास मण्डलले पनि समाज सेवा गरिएको उनको भनाइ छ । उनले वुद्धि विकास मण्डलको भवन भत्काउन रोक्न आन्तरिम आदेशको माग गर्दै साउन १८ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको समेत जानकारी दिए । उच्च अदालतले अन्तरिम आदेश नदिएपनि कारण देखाऊ आदेश जारी गरेको उनले बताए । उक्त आदेशको पनि पालना नगरी संरचना भत्काइएको उनको आरोप छ । 

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हुः पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैंले हटाएको हो ।

सम्बन्धित खबर