काठमाडौं : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए ।
बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो । केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको उनले बताइन् ।