२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

कारागारको सुरक्षामा राज्यकै बेवास्ता !

shivam cement
दिवाकर अधिकारी
२०८२ साउन २५ गते ०६:३०
कारागारको सुरक्षामा राज्यकै बेवास्ता !

काठमाडौं : कैलालीको धनगढीस्थित कारागारभित्रै भएको एक जनाको मृत्यु र त्यसपश्चातको झडपको घटनाले फेरि पनि नेपालका कारागार असुरक्षित रहेको देखाएको छ । 

निरन्तर झडपका घटना दोहोरिँदा पनि नेपालका कारागारहरूको सुरक्षा चुनौती कम भएको घटनाक्रमले देखाउँछ । सरकार फेरि पनि गम्भीर नदेखिएको सरोकारवालाहरूको टिप्पणी छ । 

गत शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो । अन्य ४७ जना घाइते भएका थिए । 

घटनापछि कैदीबन्दीहरूले कारागार नै नियन्त्रणमा लिएर सुरक्षामा चुनौती दिए । कारागारको सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेपछि संघीय सरकारले नै चासो देखायो ।  गृहमन्त्री रशेम लेखकले सुरक्षा निकायका प्रमुखसँग समेत छलफल गरे । 

शनिबार सिंहदरबारमा सुरक्षा प्रमुखहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएर छलफल गरेका हुन् । कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेपछि गृहमन्त्री लेखकले यो घटनालाई गम्भीरताकासाथ लिएको र परिस्थिति सहज बनाउन सुक्ष्मरुपले हेरेको बताएका छन् । 

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले पनि कारागारको घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सुक्ष्म रुपले हेरेको बताएका छन् । 

उनले भनेका छन्, ‘गृहमन्त्रीज्युको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिवज्यु सबै बसेर छलफल गरेका छौँ ।’ 

गृहमन्त्रालयका अनुसार गम्भीर घाइते भएका एक जना घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ । 

स्थानीय प्रशासनकाअनुसार कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप हुँदा वातावरण अशान्त बनेको हो । 

कारागारमा यसअघि पनि पटक–पटक झडपका घटना भएका छन् । बाल सुधारगृहमा झडपका घटना अझ ज्यादा भएका छन् । तर, सरकारले गम्भीर रुपमा लिएर योजना नबनाउँदा असुरक्षा कम हुन नसकेको हो । 

५ भदौ २०८० मा भक्तपुरको सुधारगृहमा झडप भएको थियो । त्यसबेला मूल गेट नै तोडेर बन्दीहरू बाहिर निस्किएका थिए । हातमा हतियारसहित बन्दीहरू सडकमा पुगेका थिए ।

२६ भदौ २०८० मा वीरगञ्जको विर्तास्थित बाल सुधारगृहमा, ४ असोज २०८० मा बाँकेको डुडुवास्थित जयेन्दु सुधारगृहमा झडप भएको थियो । १४ पुस २०७९ मा बाँकेको सुधारगृहमा झडप भएको थियो भने बाँकेको सुधारगृहमा २०७९ माघ अन्तिम साता आगजनी भएको थियो । 

फेरि कैलाली करागारमा झडपको घटना दोहोरिएको हो । 

कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्न सरकारले छानबिन समिति नै बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेका छन् । 

समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार  कैलाली कारागारमा भएको घटना फितलो सुरक्षाको परिणाम हो । यसलाई आयोगले गम्भीर लापरबाही भनेको छ । 

मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गरेपछि फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना हुन पुगेको बताएको हो । 

मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टको नेतेत्वमा कारागारको निरीक्षण भएको थियो । त्यसपछि आयोगले फितलो सुरक्षाको कारणले कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी झडप हुने परिस्थिति बनेको बताएको छ । 

यसका अलावा क्षमता भन्दा बढि कैदीबन्दी रहनु र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नहुनुलाई पनि आयोगले गम्भीर रुपमा लिनुपर्ने बताएको छ । 

ADV

सम्बन्धित खबर

Advertise