काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारविरुद्ध हरेक स्थानीय तहदेखि राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज र सचेत नागरिकलाई एकजुट भइ काम गर्न उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आग्रह गरेका छन् ।
मानव बेचबिखनविरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस अपराधलाई सामाजिक कलंकका रूपमा लिँदै रोकथाम, उद्धार, पुनःस्थापना तथा पुनर्मिलनका लागि नेपाल सरकार गम्भीरतापूर्वक लागिपरेको जानकारी दिए ।
उनले विश्वभर पाँच करोड मानिस अझै आधुनिक दासत्वमा जीवन बिताइरहेको तथ्य प्रस्तुत गर्दै नेपाल सरकारले रोजगारी र स्वरोजगारमुखी सीप विकास, वित्तीय पहुँच र आर्थिक सशक्तीकरणमार्फत पीडितलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।
सोही कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडिले मानव बेचबिखन अन्त्यका लागि तीनै तहका सरकार, नागरिक समाज र सचेत नागरिकबीचको सहकार्य अपरिहार्य भएको बताए । उनले २०६३ सालदेखि नेपाल सरकारले भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको जानकारी दिए ।
उनले मानव बेचविखन तथा ओसारपसारका क्षेत्रमा निरन्तर योगदान पुर्याउने सरकारी तथा गैर सरकारी संघ संस्था, नागरिक समाज, पीडित प्रभावित, सामाजिक अभियन्तालगायतमा कृतज्ञता ज्ञापन गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरिबी र अवसरको कमीका कारण बेचबिखनका घटना बढिरहेको बताउँदै जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सचेतनामूलक काम गर्नुपर्नेमा जोड दिए ।
उनले सन् २००५ देखि मानव बेचबिखन बिरुद्ध काम गर्दै वार्षिक प्रतिवेदन प्रकाशित गर्दै सरकारलाई सिफारिस गर्दै आएकोमा मानव बेचबिखन गर्न नदिन जोखिम युक्त क्षेत्रको पहिचान, जोखिममा परेकालाई उद्धार, जीविकोपार्जन र सामाजिक पुर्नमिलन गर्नु पर्ने सरकारलाई सुझाव दिएको बताए ।
अध्यक्ष मगरले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई जरैदेखि उन्मूलन गर्न, पीडितलाई उचित न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन कानून निर्माण तथा परिमार्जन गर्न संस्थागत संयन्त्रको निर्माण गरी कार्यान्वयन गरिरहेको भएपनि मानब बेचबिखनका घटना भइरहेको प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले प्रविधिको दुरुपयोग र सडक मार्गका कारण बेचबिखनका नयाँ स्वरूप देखिएको उल्लेख गर्दै राज्यले आर्थिक सशक्तीकरणतर्फ विशेष ध्यान दिनुपर्ने बताइन् ।
उनले मानब बेचबिखन तथा ओसार पसारको अन्त्य गर्न नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको ध्यानाकर्षण गर्दै यो अपराध हुनुको कारण सचतनाबाट मात्र नपुग्ने भएकोले गरिबीको अन्त्यका आर्थिक सबलीकरण र सशक्तिकरणका लागि परिणममुखी काम गर्नु पर्नेमा जोड दिइन् ।
एडविनका अध्यक्ष तारा भण्डारीले सन् १९९७ देखि क्रियाशील सञ्जालले मानव बेचबिखन बिरुद्ध निरन्तर काम गर्दै आएको स्मरण गर्दै तीनै तहमा मानब बेचबिखनबिरुद्धको काम गर्न आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने खाँचो औंल्याउँदै सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्यमा एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिइन् ।
मानब बेचबिखन तथा ओसार पसार प्रभावितको क्षेत्रमा कार्यरत संस्थाका शान्ति फाउण्डेसनका अध्यक्ष सन्जमाया तामाङले आपूm सन् १९९६ मा १३ वर्षको उमेरमा गरिबीका कारण काठमाडौंमा गलैचा बुन्न आएकोमा आफन्तबाटै बेचबिखनमा परेको अवस्थामा भारतबाट उद्धार गरी नेपाल ल्याइएपछि पीडित प्रभावितहरुको आवाजलाई संगठित गर्दै आएको स्मरण गर्दै नेपाल सरकारबाट सम्मानित हुँदा अझ जिम्मेवारी थपिएको बताइन् । यस अवसरमा मानव बेचबिखन तथा ओसारपसार रोकथाममा योगदान पुर्याउने विभिन्न संस्था, सुरक्षाकर्मी र व्यक्तित्वलाई सम्मान गरिएको थियो । शान्ति फाउन्डेशनकी अध्यक्ष सन्जमाया तामाङलाई समेत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रभातफेरी, नृत्य तथा सचेतनामूलक प्रस्तुति पनि गरिएको छ । सहभागीहरूले ‘मानव बेचबिखन मुक्त समाज’, ‘दलाललाई कानूनी कठघरामा उभ्याऔँ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः हटाऔँ मानव बेचबिखनको दुष्चक्रको जालो’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।