आज शहीद सप्ताहको अन्तिम दिन । जनताको अधिकार प्राप्तिका निम्ति प्राण आहूती दिने चार शहीदलाई श्रद्धा गर्दै शहीद सप्ताहको समापन हुँदैछ । निरंकुश जहाँनीय राणाशासन विरुद्ध प्राण आहूती दिने चार शहीदको सम्झनामा २०१२ सालदेखि शहीद सप्ताह मनाउने गरिएको हो । १९०४ सालदेखि शुरु भएको जहानीय रानाशासनको निरंकुशताबाट मुक्ति दिलाउने आन्दोलनका क्रममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले प्राण आहुती दिएका थिए । १० माघमा शुक्रराज शास्त्रीलाई पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा, १५ माघमा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा हत्या गरिएको थियो । त्यसपछि उत्कर्षतिर अगाडि बढेको आन्दोलनले २००७ सालमा राणाशासनको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र स्थापना भएको थियो ।
त्यसपछिको सात दशकमा राजतन्त्रलाई पनि विदाइ गरियो । २४० वर्षे इतिहास बोकेको राजतन्त्रलाई २०६२/०६३ सालको दोस्रो जनआन्दोलनले अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापनापछि नागरिकका सन्तान यो मुलुकको राष्ट्र प्रमुख बन्ने संवैधानिक व्यवस्था सुनिश्चित भएको छ । पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी जनताका प्रतिनिधिहरुबाट निर्वाचित भएका थिए । गत आमनिर्वाचनपछि तेस्रो राष्ट्रपतिको खोजी भइरहेको छ । मुलुकमा तीन तहको सरकार सञ्चालनमा छ । राणाशासन र गणतन्त्रका बीचमा पञ्चायती शासन मुलुकले खेप्नुपरेको थियो । २०१७ सालदेखि २०४६ सालसम्म पञ्चायती व्यवस्था रह्यो । तर राणाशासन अन्त्य गरेका जनताले पञ्चायतलाई पनि विदाइ गरे ।
यो प्रजाबाट नागरिकसम्मको राजनीतिक परिवर्तनको शृङ्खलामा १९९७ सालमा प्राण आहूती दिने शहीदहरुको योगदानलाई विशेष रुपमा सम्झने गरिएको छ । किनकि नागरिक शासनको आधारशिला यही विद्रोहले तयार पारेको थियो । त्यसपछि पनि राजनीतिक परिवर्तनका निम्ति थुप्रै आन्दोलन भए, हजारौंले प्राण आहूती दिए । आजको शासन प्रणालीको जग यिनै शहीदहरुले दिएको बलिदानबाट संभव भएको हो । त्यसैले शहीदहरुको सम्झना अर्थपूर्ण छ । तर वर्षदिनमा एकपटक शहीद सम्झने र सप्ताह मनाउने कार्यले मात्रै बलिदानको सम्मान हुनेछैन । ती शहीदहरुले देखेको सपना अनुसार, मुलुकको शासन प्रणाली स्थापित गरिनु महत्वपूर्ण हो । अहिले पनि नागरिकले न्याय नपाएको र आधारभूत आवश्यकताबाट बञ्चित हुनु परिरहेको छ । यस्तो परिपाटीको अन्त्य गरिनु शहीदको सच्चा सम्मान हुनेछ । महान् शहीदहरु, अमर रहून !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies