काठमाडौं : मुख्य सचिव एकनारायण अर्यालले सिंहदरबार अवलोकन गरेका छन् । आगलागीबाट भएको क्षति हेर्न मुख्यसचिव अर्याल अन्य सचिवहरूलाई समेत लिएर सिंहदरबार पुगेका हुन् ।
अवलोकनपछि उनले भनेका छन्, ‘सिंहदरबार निकै नै क्षतिग्रस्त छ । तथापि ड्यामेज नभएका ठाउँबाट सेवा सुरु गर्दै छौं ।’
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीका लागि पनि सिंहदरबारमै कार्यकक्ष तयार भएको छ । सिंहदरबार पुगेर कार्यभार सम्हालेर काम सुरु गर्दै छिन् ।
जेनजीको आन्दोलनपछि केपी शर्मा ओलीले राजीनामा दिए । नयाँ सरकार प्रतिनिधि सभाबाट बन्न नसक्ने अवस्था रहेपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । नयाँ सरकारको कामकारबाही पनि सिंहदरबारबाटै गर्ने तयारी छ ।
स्थलगत अध्ययनपछि सचिवहरूले मन्त्रालयमा गरेको ब्रिफिङअनुसार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका कतिपय संरचना सफा गरेपछि सेवा सुचारु गर्न सकिने अवस्था छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयमा भने शतप्रतिशत क्षति भएको छ । अर्थ मन्त्रालयको भुइँ तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुगेको छ । सिंहदरबारभित्र सग्लो संरचना भेट्न मुस्किल छ । तथापि खरानी टक्टक्याएर सिंहदरबारबाटै काम सुरु गर्ने तयारी अगाडि बढेको हो ।
जेनजीले गरेको आन्दोलनको दोस्रो दिन गत मंगलबार सिंहदरबार जलेको थियो । प्रदर्शनकारीको निसानामा सरकारी भवन र कार्यालय पर्दा सिंहदरबार कुरूप बन्न पुगेको छ । सिंहदरबार सफा गर्दै काम सुरु गर्ने र पुनर्निर्माण गर्ने योजना रहेको सरकारी कर्मचारी बताउँछन् ।
सर्वोच्च अदालतले पनि काम सुरु गर्दै छ । सर्वोच्च अदालतको भवन पनि पुरै जलेर खरानी भएको छ । यसका बाबजुत प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतको कामकारबाही सुरु गरेका हुन् ।
गत बिहीबार राउतले जलेकै भवनमा फुलकोर्टको बैठक राखेका थिए । आइतबारबाट सकिने काम गर्नेगरी इजलास राख्दै छन् । अर्थात् अदालत र सिंहदरबार यथाअवस्थामा सेवा सुरु गर्दै छन् ।
नयाँ सरकार बनेसँगै सिंहदरबारमा चहलपहल समेत सुरु भएको छ । मन्त्रालयहरूमा कर्मचारी जान थालेका छन् । सरसफाइलगायतको काम सुरु गरेका छन् ।