२०८२ असोज १९ गते आइतवार / Oct 05 , 2025 , Sunday
२०८२ असोज १९ गते आइतवार
Ads

सर्लाहीमा अविरल वर्षाले डुबान र कटान, जनजीवन प्रभावित

shivam cement
घनश्याम बलम्पाकी
२०८२ असोज १९ गते १५:३७
सर्लाहीमा अविरल वर्षाले डुबान र कटान, जनजीवन प्रभावित

सर्लाही : शुक्रबार रातिदेखिको अविरल वर्षाले सर्लाही जिल्लामा डुबान र तटबन्ध कटानको समस्या निम्त्याएको छ । जिल्ला भएर बग्ने विभिन्न खोलाहरूले ठाउँठाउँमा तटबन्ध कटान गर्दा दर्जनौँ घर डुबानमा परेका छन् । वर्षाको पानीले निकास नपाउँदा सदरमुकाम मलंगवासहित विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

कौडेना गाउँपालिका-७, शिवनगरमा लखन्देही खोलाले तटबन्ध कटान गर्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । आइतबार बिहान प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहितको टोलीले सो क्षेत्रको अनुगमन गरेको छ । स्थानीय ज्योत नारायण गिरिका अनुसार, भारी वर्षापछि लखन्देही खोलाले बारम्बार तटबन्ध कटान गर्दा गाउँमा बाढी पस्ने गरेको छ । यस्तै, कौडेना गाउँपालिका-३, पर्सा र ६, छपकैयामा पनि खोलाको पानी पस्दा १० भन्दा बढी घर डुबानमा परेका छन् । सक्रौलमा पनि तटबन्ध कटानको जोखिम बढेको छ ।

भारतीय पक्षले अग्लो बनाएको सडकका कारण पानीको निकास रोकिँदा सदरमुकाम मलंगवामा मुख्य नाका, प्रहरी चौकी गोरखकाली, भन्सार कार्यालय र आसपासका घरहरू डुबानमा परेका छन् । यस्तै, चक्रघट्टा गाउँपालिका-५ मा लखन्देही खोलाको बाढीले इलाका प्रहरी कार्यालयसहित १७ घरधुरी जलमग्न भएका छन् । हरिवन नगरपालिका-११, चिनमी मिल क्षेत्रमा वर्षाको पानीले निकास नपाउँदा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय सुरेश भट्टराईले बताए ।

बरहथवा नगरपालिका-७ मा सोती खोलाको पानी गाउँमा पस्दा १० घरका बासिन्दालाई बजारको टहरामा सारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए । बसबरिया गाउँपालिका-२, धावटोलमा भैँसी गोठमा सुतेका ५५ वर्षीय रामसुरत सहनी र ५० वर्षीया सुनिता सहनीलाई उद्धारको तयारी भइरहेको छ । बरहथवा-१६ मा टिकुलिया खोलाको बहाव बढ्दा पासवान र यादव बस्ती जोखिममा परेका छन् ।

मनुष्मारा खोलाले धनकौल गाउँपालिका-३, हरकठवा र ४, महिनाथपुरमा रौतहटको धरमपुर जोड्ने २ किलोमिटर सडक कटान गर्दा आवतजावत ठप्प भएको छ । चन्द्रनगर गाउँपालिका-५ मा प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको छ भने प्रहरी चौकी गोडैताको पर्खालमा पनि क्षति पुगेको छ । कविलासी नगरपालिका-८, अगर्वामा वर्षाको पानी पस्दा १४ घर डुबानमा परेका छन् ।

कविलासी नगरपालिका-२, पिपरियामा घरको पर्खाल भत्किँदा सुधिरसिंह दनुवारकी ९ वर्षीया छोरी शिवानी सिंह घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिल्लाको उत्तरी भेगमा भित्र्याउन लागिएको धान, तरकारी र उखु बालीमा समेत ठूलो क्षति पुगेको किसानहरूले बताएका छन् ।

लगातारको वर्षा आइतबार बिहानबाट रोकिएपछि जनजीवन केही सामान्य बनेको छ । तर बिजुली अनियमित र मोबाइल नेटवर्कमा अवरोधले स्थानीय समस्यामा परेका छन् । काठमाडौँ जाने गाडीहरू नचल्दा उपत्यका फर्कनुपर्ने यात्रुहरू समस्यामा छन्, यद्यपि स्थानीय रुटका सवारी साधनहरू निर्वाध सञ्चालन भइरहेका छन् ।

जिल्ला प्रशासन र प्रहरीले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्ने र क्षतिग्रस्त संरचनाको मर्मतमा ध्यान दिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise