काठमाडौं : घुम्न भनेर भिजिट भिसामा विदेश जाने नेपालीहरूको संख्या ठुलो छ । गृह मन्त्रालयका अनुसार २०२४ को एक वर्षको अवधिमा मात्रै २ लाख ७४ हजार ४ सय २८ नेपाली नागरिक भिजिट भिसामार्फत विदेश गए । त्यसमध्ये कति नेपाल फर्किए भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन ।
विघटित प्रतिनिधि सभाले पछिल्लो अधिवेशनमा गरेका कामकारबाही सार्वजनिक गरेको छ । गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको हो ।
भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेका थिए । आन्दोलन क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । तर प्रतिनिधि सभाबाटै सरकार बन्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका हुन् । नयाँ प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।
विघटन भएपछि संसद् सचिवालयले विघटित प्रतिनिधि सभाको कामकारबाही सार्वजनिक गरेको हो । जसमा सांसदका लिखित प्रश्न र सम्बन्धित मन्त्रालयका जवाफसमेत समावेश छ । सोही विवरणमा एकै वर्षमा भिजिट भिसामा पौने ३ लाख नेपाली विदेश उडेको तथ्यांक पनि छ ।
सदस्य सोबिता गौतमले संसद् सचिवालयमार्फत गृह मन्त्रालयलाई लिखित प्रश्न गरेकी थिइन्, ‘सन् २०२४ मा भिजिट भिसाको प्रयोजनमा कति नेपाली नागरिक विदेश प्रस्थान गरे ? तीमध्ये कति नागरिक तोकिएको अवधिभित्र स्वदेश फर्किए ? जो फर्किएनन्, तिनीहरूको विवरण के सरकारले अभिलेखमा राखेको छ ?’
जवाफमा गृह मन्त्रालयले अध्यागमन विभागबाट हाल सञ्चालनमा रहेको नेपाली पोर्टको अभिलेखअनुसार सन् २०२४ मा २ लाख ७४ हजार ४ सय २८ नेपाली नागरिक भिजिट भिसामार्फत नेपाल बाहिरको जनाएको छ ।
नेपाली पोर्टमा नेपालबाट बाहिर प्रस्थान गर्दा कुन उद्देश्य, प्रयोजन र भिसामा प्रस्थान गर्ने हो सोको सम्पूर्ण विवरण अभिलेखमा रहने व्यवस्था छ । तर नेपाल फर्किने समयमा नेपाली नागरिकको राहदानीमा उल्लेख भएका विवरण मात्र प्रणालीमा अभिलेख राख्ने गरिन्छ । यसकारण कुन मुलुकबाट फर्किएको हो सोको विवरण अभिलेखमा देखिने तर कुन प्रयोजनमा गएर फर्किएको हो सोको विवरण नदेखिने गृह मन्त्रालयको जवाफ छ । गृह मन्त्रालयको जवाफमा अगाडि भनिएको छ, ‘सन् २०२४ मा विदेश गएका नेपाली नागरिकमध्ये कति सोही अवधिमा स्वदेश फर्किए भनेर यकिन नहुने व्यहोरा अनुरोध गर्दछु ।’
यो जवाफ तत्कालीन गृहमन्त्री रमेश लेखेकले लेखेका हुन् । जसमाथि संसद्मा बहस हुन पाएन । गृह मन्त्रालयले हाल सञ्चालनमा रहेको नेपाली पोर्टलाई समय समयमा स्तरोन्नति गर्ने कार्य निरन्तर भइरहेको भने जनाएको छ । कति नेपाली समयमा फर्किए भन्नेलगायतका सूचना तथा तथ्यांकसमेत आगामी दिनमा अभिलेखमा रहने गरी सो प्रणालीलाई स्तरोन्नति गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।