काठमाडौं : सामान्यतया जनप्रतिनिधि भनेको जनताको कुरा सुनेर नीति बनाउने र जनताकै चाहनाअनुसार जनताको दैनिकी सहज बनाउने अख्तियारप्राप्त अधिकारी हो । तर यस्तो बुझाइलाई नै माथ खुवाउने पात्र हुन्– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । उनी मेयर भएको साढे तीन वर्ष हुन लाग्यो । यस बीचमा उनले कहिल्यै सार्वजनिक कार्यक्रम र सार्वजनिक बहसको सामना गरेका छैनन् । उनी मेयर भएपछि सकारात्मक काम धेरै भएका छन् । तर नकारात्मक टिप्पणी गर्नेहरू पनि कम छैनन् । के नियतले के काम गरेको ? भन्ने स्पष्टीकरण दिन कहिल्यै तयार नहुने प्रवृतिले बालेनको पहिचान नै बनेको छ । उनको व्यक्तित्व एकोहोरो स्ट्याटस मात्र लेख्ने र दोहोरो प्रतिक्रिया नदिने पात्रका रूपमा चित्रित हुन पुगेको छ ।
साढे तीन वर्षपछि भने थोरै भए पनि आफ्नो शैलीमा ‘ब्रेक’ लगाएका छन् । सामाजिक सञ्जालबाटै भए तापनि आफूमाथिका प्रश्नको सामना गर्ने र जवाफ दिने कार्यमा देखिन थालेका हुन् ।
पछिल्लो समय जेनजीको आन्दोलनपछि बालेन नयाँ पुस्ताबाट समेत प्रश्नको घेरामा परे । उनले सामना गरेका प्रश्नहरू हुन्– सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? राज्यका महत्वपूर्ण संरचना र निजी सम्पत्ति जलेको हेरेर तीन दिनसम्म बालेन किन बसे ?’
यी प्रश्न मात्रै होइन, नयाँ पुस्ताबाटै ‘सिंहदरबार जलाउने बालेन शाह हो’ भनेर टिप्पणीहरू हुन थालेपछि भने उनी चुप रहन सकेनन् । सामाजिक सञ्जालबाटै भए पनि जवाफ दिएका छन् । यससँगै जस्तो पायो त्यस्तो प्रश्नमा जवाफ नदिने बालेन शैलीमा ब्रेक लागेको हो ।
जवाफमा बालेन शाहले काठमाडौं महानगरले भदौ २३ र २४ गतेको अवस्थाबारे ब्रिफिङ गरेका छन् । जसले त्यसदिनको अवस्थाबारे उनको बुझाइ उजागर गरिदिएको छ । उनले आन्दोलन क्रममा काठमाडौं महानगरको भूमिका केलाएका छन् । यसले उनको सार्वजनिक जवाफदेहितालाई देखाएको छ ।
आगो लाग्दा कहाँ दमकल थिए, कति दमकल छन्, कति कर्मचारी छन्, कति समय काम गर्छन् ? लगायत विषय उनले जवाफमा लेखेका छन् । यसले भोट दिने मतदातालाई बालेनको शक्ति थाहा दिन सकेको छ ।
‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,’ मेयर बालेनले लेखेका छन्, ‘कारण थियो हुलले दमकललाई काम गर्न नदिएको ।’
बालेनले जे जस्तो जवाफ दिए तापनि आगामी दिनमा थप जिम्मेवार बन्नुपर्ने सुझाव उनकै पोस्टमा कमेन्ट गर्नेहरूले दिइरहेका छन् ।सामाजिक सञ्जाल प्रयोगकर्ता कमल ज्ञवाली त बालेनले पत्रकार सम्मेलन गरेर प्रश्नहरूको सामना गर्नुपर्ने सुझाउँछन् ।
बालेनको पोस्टमा उनको कमेन्ट छ, ‘सबैले आस गरेको मान्छे यसो पत्रकार सम्मेलन गरेर जानकारी दिए कमसेकम सबै भ्रम तोडिने थियो । बालेनजी ! तपाईंले खाली अँध्यारो कोठाबाट बेलाबेला स्टाट्स हाल्नुहुन्छ त्यसपछि गायब हुनुहुन्छ यसले गर्दा धेरैले शंका गर्न थाले के गर्ने होला !’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता किरण सापकोटा पनि बालेनको जवाफ आएकोमा छक्क छन् । बालेनकै पोस्टमा कमेन्ट लेख्छन्, ‘स्पष्टीकरण पनि पुरै फास्ट ट्र्याकमा आयो त ।’
बालेनले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनलाई समर्थन गरेका थिए । उनलाई नयाँ पुस्ताले नेपालको नयाँ नेताका रूपमा समेत हेर्दै आएका छन् । ¥याप र इन्जिनियरिङसँगै नेपालको राजनीतिमा प्रवेश गरेका बालेन काठमाडौं महानगरको मेयरको उम्मेदवार भएदेखि नै निरन्तर चर्चामा छन् । मेयर उम्मेदवार हुनु अगाडिसम्म ¥याप गायकका रूपमा मात्र चिनिन्थे । मेयर भएपछि उनलाई राजनीतिज्ञका रूपमा हेर्नेहरू नयाँ पुस्तामा ज्यादा छन् । तर प्रश्नको सामना नगर्ने, सार्वजनिक कार्यक्रममा बहस र तर्कमा नदेखिने उनको प्रवृतिमा शंका गर्दै आएका छन् । यस्तो बेला बालेनले सामाजिक सञ्जालबाटै भए तापनि जवाफ दिन थालेका हुन् ।