२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिन नेपालले खोज्यो भारतको सहयोग

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर २ गते ०६:२५
Shares
फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिन नेपालले खोज्यो भारतको सहयोग

काठमाडौं : जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिन नेपालले  भारतको सहयोग खोजेको छ । नेपालबाट सीमा पार भएको हुन सक्ने भएकाले सरकारले यस किसिमको सहयोग मागेको हो । 

गृह मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएकामध्ये ७ सय १८ थान हतियार फिर्ता भएको छ । जेनजी आन्दोलन क्रममा करिब १२ सय हतियार लुटिएको सरकारी तथ्यांक छ । साथै, फरार १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ४ सय ४१ जना फिर्ता भएका छन् । बाँकी ५ हजार १३ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन बाँकी छ ।

फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुवै देशमा सुरक्षा चुनौती हुन सक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने नेपालको प्रस्ताव छ । भारतको नयाँ दिल्लीमा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक बसेको थियो । जहाँ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहभागी थिए । जहाँ उनले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र प्रहरी ब्यारेक तथा कार्यालयबाट लुटिएका हतियार नियन्त्रणमा भारतीय पक्षको सहयोग खोजेका हुन् । 

उनले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुवै देशमा सुरक्षा चुनौती हुन सक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताए । महानिरीक्षक अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिन खोजेको सहयोगमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीमा महानिर्देशक सञ्जय सिंघल सकारात्मक भए । उनले फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्ने वचन दिएका छन् । 

गत भदौ २४ गते देशभरका २८ कारागार र सुधार गृहबाट भागेकामध्ये ५ सय २० जना भारतीय रहेका छन् भने र ९९ जना तेस्रो देशका नागरिक छन् । 

भागेका भारतीयसहित विदेशी र नेपाली कैदीबन्दी स्थलमार्गबाट भारतमा लुकेर बसेको हुन सक्ने नेपालको आशंका छ । यही आशंकासहित नेपालले भारतको सहयोग खोजेको हो । गत बुधबारदेखि सुरु भएको सीमा सुरक्षा समन्वय बैठक शुक्रबार नै सकिएको छ ।

बैठकमा सहभागी हुने नेपालबाट आठ सदस्यीय उच्चस्तरीय टोली गएको थियो । टोलीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए । भारतका तर्फबाट एसएसबी महानिर्देशक सिंघलको नेतृत्वमा भारतीय  गृह र विदेश मन्त्रालयका अधिकारी सहभागी थिए । 

बैठकमा नेपालले राखेको फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा भारतीय सहयोगअनुसार अगाडि बढ्न दुवै देश तयार भएको र त्यसअनुसार काम अगाडि बढिसकेको सरकारी अधिकारी बताउँछन् । 

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार नेपालभित्रै पनि फरार कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिन विशेष अपरेसन चलाइँदै छ ।

यसअघि राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा’ छलफल थियो । जहाँ गृहमन्त्री अर्याल आमन्त्रित थिए । 

सो बैठकमा सांसदहरूले सोधे कसरी शान्ति सुरक्षाको प्रत्याभूति हुन्छ ? कसरी चुनाव भयरहित हुन्छ ? सरकार किन फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा लिन सकिरहेको छैन ? भनेर सोधेका थिए । 

जवाफमा गृहमन्त्री अर्यालले भने, ‘हतियार फिर्ताका लागि संयुक्त अपरेसन भइरहेको छ । फरार कैदी सेवा लिन राज्यका कुनै पनि संयन्त्रमा पुग्न सक्छन् । यसबारे पत्राचार गरिएको छ, उनीहरूलाई नियन्त्रणमा लिन विशेष अपरेसन चलाइँदै छ ।’ 

गृहमन्त्री अर्यालका फरार कैदीहरूको नामावली प्रकाशन गरिएको छ । उनीहरूको नाम अंग्रेजीमा पनि प्रकाशन गरिएको छ । किनभने विदेशतिर खोज्नेलाई रोक्न सकियोस् । ट्राभलको सिलसिलामा अरू मुलुकमा प्रवेश गर्न सक्ने भनेर अध्यागमनमा समेत फरार कैदीहरूको नामावली पठाइएको छ ।

ADV

सम्बन्धित खबर