
काठमाडौं : जेनजी आन्दोलनका क्रममा जलेको सर्वोच्च अदालतले प्रांगणबाटै सेवा दिइरहेको छ । प्रांगणमै सुनुवाइ हुन्छ र फैसला लेखिन्छ । साथसाथै, विगतमा फैसला भइसकेकाको पूर्णपाठ लेख्ने कामले समेत निरन्तरता पाइराखेको छ । फैसलाको पूर्णपाठ तयार गर्दा जलेका मिसिलको सक्कल अभिलेख नभेटिएको खण्डमा फैसलामै ‘मुद्दाको सक्कल मिसिल नभएको’ लेख्न थालिएको छ ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । २४ भदौमा देशका अन्य २३ वटा अदालतसहित सर्वोच्च अदालत पनि जल्यो । सर्वोच्च अदालतमा रहेका संवैधानिक इजलास, मुद्दा फाँट, अभियान फाँट, रिट शाखा सबै जले । अदालतको भवन वा कोठा मात्रै जलेन, अदालतमा रहेको मिसिलसमेत जले ।
सर्वोच्च अदालत प्रशासनका अनुसार त्यसबेला ९ लाख ३३ हजार ८ सय बढी मिसिल जलेका छन् । जलेका मिसिलमा फैसला हुन बाँकी विचाराधीन मुद्दाको संख्या २६ हजार ५ बढी छ । यी विचाराधीन मुद्दाको फैसला त मिसिल जल्दा प्रभावित हुने नै भए । यस्तोमा अदालतले पनि मुद्दाको मिसिल छैन भनेर लेख्न थालेको हो ।
अदालत प्रशासनका अनुसार सर्वोच्चमा भदौ २३ गतेसम्म २४ हजार २ सय ३४ वटा मुद्दा विचाराधीन थिए । त्यसमध्ये २० हजार ३४ वटा विचाराधीन मुद्दाको मिसिल जलेको छ । ४ हजार २ सय मुद्दाका मिसिल भने बचेका छन् । बचेका मिसिलमा रिटतर्फ २ हजार ५ सय ९ र मुद्दाका १ हजार ६ सय ९१ थान मिसिल रहेका छन् ।
मिसिल जलेको अवस्थामा प्रमाण जुटाउन अदालतलाई मुस्किल परेको हो । यसकारण जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीका कारण मिसिल जलेका र सक्कल अभिलेख नभेटिएका मुद्दाको पूर्णपाठ तयार गर्दा फैसलाको अन्तिममा नष्ट भएको बेहोरा उल्लेख गर्न सुरु गरिएको हो ।
अदालत प्रशासनका अनुसार फैसला लेखन बाँकी रहेका मुद्दा आगजनी भई नष्ट भएको हकमा इजलास अधिकृतले न्यायाधीशहरूलाई इमेलमा पठाएको कागजात, तथ्य प्रमाणलाई हेरेर फैसला लेख्ने काम भइरहेको छ । सक्कल मिसिल नभएकाले ८ देखि १० पानाको फैसलाको पूर्णपाठ लेख्ने काम भइरहेको छ । साथै अन्तिममा फैसलाको पूर्णपाठ तयार गर्दा मुद्दाको सक्कल मिसिल नभएको उल्लेख गरिएको छ ।
सर्वोच्च अदालत प्रमाणीकरण निर्देशिकामा यससम्बन्धी व्यवस्था छ । फैसला लेखन बाँकी रहेका नष्ट भएका मिसिलहरूको हकमा के गर्ने भन्ने विषयअन्तर्गत विशेष परिस्थितिका कारण नष्ट भएको मिसिल कागजात प्राप्ति र प्रमाणीकरणको प्रावधान छ ।
सर्वोच्च अदालतको फुलकोर्ट बैठकले बनाएको निर्देशिकाअनुसार अदालतले धमाधम फैसलाको अन्तिममा दृष्टव्य खण्डमा मिसिल जलेको र प्राप्त टिपोट र तथ्यका आधारमा फैसला तयार पारिएको उल्लेख गर्न थालिएको हो ।
ट्रेडमार्क विवादसम्बन्धी इटालीको एक कम्पनीले नेपाली कम्पनीलाई विपक्षी बनाई दायर गरेको मुद्दाको फैसलामा यस्तै भाषा लेखिएको छ । सो फैसलाको द्रष्टव्य खण्डमा मिसिल जलेको र प्राप्त टिपोट तथा तथ्यका आधारमा फैसला लेखिएको उल्लेख छ ।
जहाँ भनिएको छ, ‘प्रस्तुत फैसलाको पूर्णपाठ तयार नहुँदै मिति २०८२/०५/२४ गते यस अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण यस मुद्दाको सक्कल मिसिल नभेटिएको हुँदा इजलासबाट मिसिल अध्ययन भई एवं इजलास अधिकृतबाट सोअघि मिसिल हेरी तयार गरी न्यायाधीशसमक्ष पठाएको टिपोट तथा मुद्दा व्यवस्थापन प्रणालीमार्फत निकालिएको मुद्दाको स्थितिसमेतका आधारमा यो फैसला तयार गरिएको ।’
यस्तो अवस्थाका कारण कतिपय मुद्दाको सन्दर्भमा फैसला नै प्रभावित हुन सक्छ । के कारणले कस्तो फैसला भएको हो भनेर दिइने प्रमाण नै दिन नपाउने अवस्था बनेको छ । यस्तो अवस्थामा रहेका मुद्दाहरूमा कर छली, मूल्य अभिवृद्धि कर, भ्रष्टाचार, अदालतको अवहेलना, कर्तव्य ज्यान, जबरजस्तीकरणी, लागूऔषध, सरकारी सम्पत्ति हिनामिनालगायत मुद्दाहरू रहेका छन् । जसको फैसला भई पूर्णपाठ लेख्न बाँकी छ ।
पूर्णपाठ लेख्न बाँकी मुद्दाहरूमा यौन दुराचार मुद्दामा दोषी ठहर भएका राष्ट्रसंघका पूर्वउच्च सरकारी कर्मचारी पिटर जोन डाल्गसिसको बन्दीप्रत्यक्षीकरण रिटदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेतलाई विपक्षी बनाएर दायर गरेका रिटसमेत छन् ।
अर्कोतर्फ पेसीमा चढेका मुद्दामा मिसिल जलेको हकमा मिसिल प्राप्तिको आदेश पनि भइरहेका छन् । प्राप्त भएका मिसिलमध्ये हालसम्म ६० थान मुद्दामा पेसी चढेर सुनुवाइ भइसकेको छ । अदालतले मुद्दाका पक्ष, सरकारी वकिल तथा सरोकारवालासँग समेत मिसिल कागजात माग गरिएको छ ।