२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दक्षिण ललितपुर : गफगाफले खोलेको सम्भावनाको ढोका

shivam cement
रामहरि कार्की
२०८२ पुष ७ गते २१:२२
Shares
दक्षिण ललितपुर : गफगाफले खोलेको सम्भावनाको ढोका

ललितपुर : दक्षिण ललितपुर, जहाँ प्रकृति छ, उत्पादन छ । तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित ‘गफगाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ ।

स्थानीय मुद्दा, समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर लेलेका सामाजिक अभियन्ता सनोज महतको समन्वयमा आयोजना गरिएको थियो । कार्यक्रममा पत्रकार, नागरिक समाज तथा सरोकारवालाहरूको उपस्थिति थियो । कार्यक्रममा बोल्दै स्थानीय सनोज महतले दक्षिण ललितपुरको भौगोलिक र सामाजिक अवस्थाबारे तथ्यांकसहित धारणा राखे । उनले दक्षिण ललितपुरमा तीनवटा पालिका, करिब ३३ हजार ७ सय जनसंख्या, ३१ हजार ५ सय मतदाता र २ सय ३८ वर्ग किलोमिटर क्षेत्रफल रहेको जानकारी दिए ।

उनका अनुसार दक्षिण ललितपुर विकासका दृष्टिले पछाडि परेको क्षेत्र होइन, अपार सम्भावना बोकेको भूगोल हो । ‘कृषि र पर्यटन यहाँको विकासको मेरुदण्ड बन्न सक्छ,’ उनले भने, ‘तर त्यसका लागि व्यवस्थित शहरीकरण र योजनाबद्ध बस्ती विकास अनिवार्य छ ।’

महतले भिरपाखामा रहेका असुरक्षित बस्तीलाई टुङ्गुन करिडोर, बागमती करिडोर र दुर्लुङ करिडोरतर्फ स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘अहिले रहेका केही बस्तीलाई दीर्घकालीन रूपमा हरियाली र जंगलमा परिणत गर्न सकिन्छ,’ उनले सुझाए ।

दक्षिण ललितपुरमा हरेक वर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको बजेट जाने गरेको उल्लेख गर्दै उनले भने, ‘यो अनुपात हेर्दा प्रतिपरिवार करिब ६० हजार र प्रतिव्यक्ति १० हजार रुपैयाँ पर्न आउँछ । तर राज्यको लगानी धेरै भए पनि उपलब्धि भने शून्य जस्तै छ ।’

उनले स्थानीय बासिन्दामा आफ्नो भूमिकाप्रति माया र स्नेह हुँदाहुँदै पनि काठमाडौं र ललितपुरका शहरी क्षेत्रमा बसाइँसराइँ गर्नुपर्ने वाध्यता सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा सहभागी पत्रकार रमेशप्रसाद तिमिल्सिनाले जनसंख्या र मतदाता सूचीबीचको असन्तुलनलाई गम्भीर समस्या बताए । ‘जनगणना हुँदा मानिस जहाँ बस्छ, गणना त्यहीँ हुन्छ, तर मतदाता नामावली भने अर्कै ठाउँमा रहन्छ,’ उनले भने, ‘यो समस्या दक्षिण ललितपुर मात्र होइन, मनाङजस्ता जिल्लामा पनि देखिन्छ ।’

त्यस्तै, पत्रकार दीपकप्रसाद घिमिरेले दक्षिण ललितपुरलाई बाहिरिया मानिसहरूले राजनीतिक प्रयोगशालाजस्तो बनाएको तीतो अनुभव सुनाए । ‘यहाँको माया कसैलाई छैन, सबै आफ्नै स्वार्थमा केन्द्रित छन्,’ उनले भने । तर अब दक्षिण ललितपुरलाई समस्याको चस्माबाट होइन, सम्भावनायुक्त भूगोलका रूपमा हेर्नुपर्ने समय आएको उनको धारणा थियो ।

तामाङ पत्रकार संघ ललितपुरका अध्यक्ष प्रकाश थिङले ललितपुरको निर्वाचन क्षेत्र नं १ मा तामाङ समुदायको बाहुल्य रहेको स्मरण गराउँदै ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गरे । ‘प्राचीन कालमा तामाङ समुदायले झाडी फाँड्दै बस्ती बसालेका हुन्,’ उनले भने । भाषिक समस्याका कारण बाहुन–क्षेत्री समुदायलाई समेत ल्याएर बस्ती विस्तार गरिएको इतिहास पुर्खाहरूले सुनाएको उनले बताए ।

प्रेस चौतारी ललितपुरका अध्यक्ष नविन लुइँटेलले दक्षिण ललितपुरलाई ‘नाम भज्याउने थलो’ बनाइएको टिप्पणी गरे । ‘यहाँ स्वार्थी मानिस मात्र आउने गर्छन्,’ उनले भने, ‘तर दूध र तरकारीजस्ता कृषि उपजले काठमाडौं र ललितपुरका शहरी क्षेत्रलाई आपूर्ति गरिरहेको योगदान भने भुल्न मिल्दैन ।’

राष्ट्रिय समाचार समितिका ललितपुर प्रतिनिधि माधवप्रसाद घिमिरेले जनप्रतिनिधिहरू गाउँमा नबस्ने, सुविधाभोगी बन्ने प्रवृत्तिप्रति कडा आलोचना गरे । ‘चुनावमा पैसा भएकाले टिकट हत्याउने, पैसा नभएकालाई भोट नहाल्ने परिपाटी हावी छ,’ उनले भने । उनका अनुसार शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन सके बसाइँसराइँ स्वतः कम हुन सक्छ । 

बागमती नदीमा थुप्रिएको फोहोर र केमिकलयुक्त पानीले दक्षिण ललितपुर अन्यायमा परेको उल्लेख गर्दै उनले ‘बागमतीवासीलाई राजधानीवासीले क्षतिपूर्ति दिनुपर्ने माग गरे । २०६२/६३ पछिको आन्दोलन पश्चात् दक्षिण ललितपुरमा विकास भएको बताए ।

कार्यक्रममा सन्तोष दाहालले दक्षिण ललितपुरका नेता र जनप्रतिनिधि गाउँमा भेटिन छाडेको, शहर केन्द्रित राजनीतिले स्थानीय समस्या ओझेलमा परेको बताए । ‘समस्या त धेरै औंल्याइयो, अब समाधान के हो ?,’ पत्रकार रमिला योञ्जनले प्रश्न गरिन् । 

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले दक्षिण ललितपुरबासी कुनै पनि समय काठमाडौं तथा ललितपुरका शहरी क्षेत्रमा बसाइँ सर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै स्थानीय प्राकृतिक स्रोत ढुंगा, गिट्टी र बालुवालाई व्यवस्थित र दीगो रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर