
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका पछिल्लो समय विकास निर्माण, प्रशासनिक सुधार, नागरिकमैत्री सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखेर अघि बढिरहेको छ । सीमित आन्तरिक स्रोतसाधनका बीच संघीय तथा प्रदेश सरकारबाट बजेट जुटाउँदै विकासका योजनालाई गति दिएको गाउँपालिकाले पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र प्रविधिमैत्री सेवामा समेत प्राथमिकता दिएको छ ।
गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न गरी सोही भवनबाट नागरिकलाई सेवा दिन थालेको छ । आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई सहज वातावरणमा सेवा लिन सुविधा पुगेको गाउँपालिकाले जनाएको छ । सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन आवश्यक कर्मचारी भर्ना गरी जनशक्ति व्यवस्थापनसमेत गरिएको छ ।
गाउँपालिकाले प्रशासनिक सुधारलाई विकासको महत्वपूर्ण आधारका रूपमा लिएको छ । कर्मचारी व्यवस्थापनदेखि प्रविधिमैत्री सेवा प्रवाहसम्मका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । यसले लामो समयदेखि देखिँदै आएका प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी समस्यालाई समाधान गर्न सहयोग पुगेको गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकालाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यले ‘उज्यालो गाउँपालिका’ अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न महत्वपूर्ण तथा सार्वजनिक स्थानमा हाईमास्ट लाइट जडान गरिएको छ । बाँकी स्थानमा पनि क्रमशः बत्ती जडान गर्ने काम अघि बढिरहेको छ । यसबाट रातिको समयमा आवतजावत गर्ने नागरिकलाई सहजता प्रदान गर्नुका साथै सार्वजनिक सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण, संरक्षण र मर्मतसम्भारलाई तीव्रता दिइएको छ । स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको विकासबाट आन्तरिक पर्यटन प्रवर्धन गर्ने र गाउँपालिकाको पहिचानलाई थप स्थापित गर्ने लक्ष्य राखिएको छ । अधुरा रहेका योजनालाई निरन्तरता दिँदै बहुवर्षीय आयोजनामार्फत निर्माणका काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ । धेरै आयोजना यसै वर्ष सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
विकास निर्माणका लागि बजेट व्यवस्थापनमा पनि गाउँपालिकाले सक्रियता देखाएको छ । आन्तरिक राजस्व अपेक्षाकृत कम भए पनि संघीय र प्रदेश सरकारबाट बजेट ल्याएर विकासलाई निरन्तरता दिइएको छ । अन्य पालिकाको तुलनामा छत्रदेवले संघीय तथा प्रदेश सरकारबाट प्राप्त गर्ने बजेट दोब्बर बढाउन सफल भएको गाउँपालिकाको दाबी छ । जनप्रतिनिधि र कर्मचारीको समन्वय तथा निरन्तर पहलका कारण ठूला योजनालाई बजेट अभाव हुन नदिई अगाडि बढाउन सहज भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सुरक्षा व्यवस्थालाई पनि प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आफ्नै सुरक्षा व्यवस्थापनका लागि कम्तीमा हवल्दारको नेतृत्वमा नगर प्रहरी परिचालन गर्ने अभ्यास अर्घाखाँची जिल्लामै पहिलोपटक छत्रदेवले सुरु गरेको गाउँपालिकाको दाबी छ । स्थानीय तहको कार्यालय, सार्वजनिक सम्पत्ति र नागरिकको सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले यो व्यवस्था अघि बढाइएको हो ।
सडक पूर्वाधार विकासमा पनि गाउँपालिकाले उल्लेखनीय काम गरेको जनाएको छ । गाउँपालिकाका धेरैजसो स्थानमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडक स्तरोन्नति र कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेको छ । गाउँबस्तीलाई सडक सञ्जालसँग जोड्ने र नागरिकको आवतजावत सहज बनाउने लक्ष्यसहित सडक निर्माणलाई प्राथमिकता दिइएको छ ।
खानेपानीतर्फ हाडेकोट खानेपानी आयोजना सम्पन्न हुनु गाउँपालिकाको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ । उक्त आयोजनामार्फत झन्डै दुई हजार नागरिकका घरमा ‘एक घर, एक धारा’ अवधारणाअनुसार खानेपानी पुर्याइएको छ । यसबाट वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय नागरिकलाई ठूलो राहत पुगेको गाउँपालिकाले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि तथा पशुपालनका क्षेत्रमा पनि आवश्यकताअनुसार बजेट र कार्यक्रम केन्द्रित गरिएको छ । कृषकलाई उत्पादनसँग जोडेर आर्थिक रूपमा सबल बनाउने उद्देश्यले भैंसी प्रवर्धन कार्यक्रम, भेडा, बाख्रा तथा च्यांग्रा पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाभित्र मासु उत्पादन तथा बिक्री वितरणलाई व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले मासु सुधार कार्यक्रमसमेत अघि बढाइएको छ । किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै कृषि तथा पशुपालनबाट स्थानीय नागरिकको आम्दानी वृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
कृषि क्षेत्रमा बाँदर र बँदेलको समस्याले किसानलाई पारेको असरलाई ध्यानमा राख्दै नियन्त्रणका लागि पनि पहल सुरु गरिएको छ । वन्यजन्तुका कारण खेतीपातीमा भइरहेको क्षति न्यूनीकरण गर्न आवश्यक पहल र कार्यक्रम अघि बढाउने गाउँपालिकाको तयारी छ ।
गाउँपालिकाले आन्तरिक राजस्व वृद्धि गर्न नयाँ अभ्याससमेत थालेको छ । गुठीको जग्गामा आफैँ कृषि खेती गरी त्यसबाट आम्दानी सिर्जना गर्ने र गाउँपालिकाको राजस्वमा योगदान पुर्याउने काम गरिएको छ । अर्कोतर्फ सरकारी खर्चमा मितव्ययिता अपनाउँदै अनावश्यक खर्च कटौती गर्ने नीतिलाई कार्यान्वयन गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले काठमाडौं तथा बुटवलजस्ता स्थानमा कामका सिलसिलामा जाँदासमेत सार्वजनिक सवारीसाधन प्रयोग गर्ने गरेका छन् । गाउँपालिकाबाट अतिरिक्त सुविधा नलिई काम गर्ने अभ्यासले प्रशासनिक खर्चको भार कम गर्न सहयोग पुगेको गाउँपालिकाको भनाइ छ ।
प्रविधिमैत्री सेवा प्रवाहलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवाग्राहीलाई सहज, पारदर्शी र छिटो सेवा दिने व्यवस्था मिलाइएको छ । सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नागरिकको आवश्यकता र मागअनुसार विकासका कामलाई अगाडि बढाइएको बताए । उनका अनुसार अहिले गाउँपालिकाभित्र धेरै योजना बहुवर्षीय रूपमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये धेरै आयोजना यसै वर्ष सम्पन्न हुने गरी काम भइरहेको छ ।
‘हामी नागरिकका सेवक हौं । जनताको माग र आवश्यकताअनुसार काम गरिरहेका छौं । विकास निर्माणसँगै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने हाम्रो प्रयास हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘अब कर्मचारी र सेवाग्राहीको मागलाई ध्यानमा राखेर डिजिटल सुझाव पेटिका सञ्चालन गर्ने तथा गाउँपालिका परिसरभित्रै चमेनागृह सुरु गर्ने तयारी गरेका छौं ।’
उनले गाउँपालिकाका प्रत्येक गाउँटोलमा सीसीटीभी जडान गर्ने, स्मार्ट शिक्षालाई विस्तार गर्ने तथा स्वास्थ्य, शिक्षा र सुशासनका क्षेत्रमा देखिने गरी सुधार ल्याउने लक्ष्य रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालका अनुसार गाउँपालिकामा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुका साथै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाइएको छ । आन्तरिक राजस्व कम भए पनि संघीय र प्रदेश सरकारबाट बजेट ल्याएर विकासका काम रोक्नुपरेको छैन ।
जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय, खर्चमा मितव्ययिता र नागरिकमैत्री प्रशासनका कारण सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको खनालको भनाइ छ । गाउँपालिकाको सेवा प्रवाहका विषयमा सेवाग्राहीबाट उल्लेखनीय गुनासो नआएको पनि उनले बताए ।