२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

स्थानीय सरकार शीतलहर पीडितप्रति उदासिन

shivam cement
घनश्याम बलम्पाकी
२०८२ पुष १२ गते १६:५०
Shares
स्थानीय सरकार शीतलहर पीडितप्रति उदासिन

सर्लाही : शीतलहरका कारण सर्लाहीको जनजीवन कष्टकर बनेको छ । गत सातादेखि अत्याधिक चिसोका कारण शीतलहर बढेसँगै जनजीवन कष्टकर बनेको हो । 

चिसो हावासँगै तापक्रम ह्वात्तै घटेपछि बालबालिका, ज्येष्ठ नागरिक, विपन्न तथा सडकमा रात काट्ने नागरिक प्रभावित भएका छन् । विशेषगरी गरिब, वृद्धवृद्धा, बालबालिका तथा खुला ठाउँमा काम गर्ने मजदुरहरू बढी प्रभावित भएका छन् । 

चिसोका कारण विद्यालय जाने विद्यार्थीको उपस्थिति घटेको छ भने बिहानै खेतबारी वा मजदुरीमा निस्कनुपर्ने किसान तथा कामदारहरू समस्यामा परेका छन् । कठ्यांग्रिदो जाडो र शीतलहरले हिउँदे बालीलाई समेत असर पर्ने गरेको छ । आलु, गोलभेडाल, सागपात लगायतका अन्य तरकारी बालीमा डढुवा जस्ता प्रकोप देखिन थालेपछि किसानहरू चिन्तित बनेका छन् । 

शीतलहरकै कारण चौपाया तथा पशुपंक्षीसमेत प्रभावित भएको उनीहरूले बताए । चिसो बढेपछि जिल्ला सदरमुकाम मलंगवा, लालबन्दी, हरिवन, बरहथवा, गोडैता, बयलवास लगायतबजार तथा सार्वजनिक स्थानहरूमा मानिसको चहलपहल घटेको छ । बिहानपख सवारी साधन चलाउन समेत कठिनाइ भएको छ भने बाक्लो हुस्सुका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै यातायात व्यवसायीले गुनासो गरेका छन् । 

ज्वरो, रुघाखोकी, निमोनियालगायत चिसोसँग सम्बन्धित स्वास्थ्य समस्या बढ्न थालेका छन् । तर जोखिम न्यूनीकरणका लागि आवश्यक न्यानो कपडा वितरण, अस्थायी आश्रयस्थल व्यवस्थापन, दाउरा तथा औषधि उपलब्ध गराउने जस्ता कार्यमा गाउँको सिंहदरबार भनेर चिनिने स्थानीय तहले चासो नदेखाएको मानव अधिकार संगठन सर्लाहीका जिल्ला अध्यक्ष तथा नागरिक अगुवा रजनीकान्त झाले गुनासो गरे । 

विपन्न परिवारहरू चिसो छल्न आगो तापेर रात बिताउन बाध्य छन् । कतिपय स्थानमा विद्यालय जाने बालबालिका चिसोका कारण घरमै बस्नुपरेको छ । तर शीतलहर आउन सक्ने मौसम पूर्वानुमान हुँदाहुँदै पनि सरोकारवाला निकायले कुनै ठोस पूर्वतयारी नगरेको मानव अधिकार संगठन सर्लाहीका जिल्ला अध्यक्ष तथा नागरिक अगुवा झाले आरोप लगाए ।

यता विपद् ब्यवस्थान समितीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रामुुराज कडरियाले शीतलहर पीडितका लागि तत्काल राहत कार्यक्रम सञ्चालन गर्न, न्यानो कपडा र कम्बल वितरण गर्न तथा स्वास्थ्य शिविर सञ्चालन गर्न २० वटै स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गरेको छ ।

यता चक्रघट्टा गाउँपालिकाका प्रमुख कृष्णकुमार यादवले भने एक दुई दिनभित्र चिसोबाट बच्न जनचेतनामुलक कार्यक्रम सञ्चान गर्ने र न्यानो कपडा वितरण र दाउरा ब्यवस्थाप गर्ने तयारीमा जुटेको बताए । कतिपय स्थानीय तहले स्रोतसाधनको अभावका कारण तत्काल कार्यक्रम सञ्चालन गर्न कठिन भएको बताउँदै आएका छन् ।

मौसम अझै केही दिन चिसो रहने अनुमान गरिएको अवस्थामा समयमै प्रभावकारी कदम नचालिए शीतलहरको असर अझ कष्टकर बन्दै जाने सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

सम्बन्धित खबर