
काठमाडौं : ९ लाख बढी नयाँ मतदाता थपिएका छन् । जसले २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउनेछन् ।
निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । मतदाता नामावली ऐन २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । निर्वाचन आयोगका अनुसार आगामी फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता रहेका छन् भने ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश भएका छन् ।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली निर्वाचन आयोगको बेवसाइटमा राखिएको छ ।
४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या १ एकरोड ७९ लाख ८८ हजार ५७० रहेका थिए ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक कुल मतदाताको संख्यामा ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । थपिएका मतदातामा पुरुष मतादाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हवार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको छ ।
आयोगका अनुसार देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । २०७९ को कुल मतदान स्थलको संख्या भन्दा यसपटक ७५ चटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको छ ।