२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहट प्रहरीको वार्षिक प्रगति : २३ हजार बढीले लिए सेवा, ४ करोड ९१ लाख राजस्व संकलन

ADV
ओमप्रकाश यादव
२०८१ साउन १५ गते १३:२४
रौतहट प्रहरीको वार्षिक प्रगति : २३ हजार बढीले लिए सेवा, ४ करोड ९१ लाख राजस्व संकलन

रौतहट : जिल्ला प्रहरी कार्यालय गौर रौतहटले एक वर्षको अवधिमा गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरिएको मुख्य–मुख्य कार्यको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको प्रगति विवरणअनुसार एक वर्षमा विभिन्न कसुर र अपराधका गरी १ हजारभन्दा बढी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चोरी, तस्करी, हत्या, हिंसा, बलात्कार, लागुऔषध, जाली नोटको कारोबार, हुण्डी कारोबारलगाएत गरी २०८० साल साउनदेखि २०८१ साल असार मसान्तसम्म कूल १ हजार ७७ मुद्दा दर्ता भएकोमा ६ सय ५२ मुद्दा फर्छ्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दीलिप घिमिरेले जानकारी दिए ।

सो अवधिमा विभिन्न अपराधमा संलगन ७ सय १५ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक घिमिरेले बताए । फैसला कार्यान्वयन गर्दा पक्राउ परेकामध्ये ६ सय ८८ जनामाथि मुद्दा दर्ता गरी कारबाही गरिएको उनले बताए । उनीहरुलाई १ सय ७ वर्ष ५ महिना २१ दिन कैद सजाय र ३८ लाख ४८ हजार ७ सय ७८ रुपैयाँ जरिवाना गरिएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै स्रोत नखुलेको रकमसहित ६ जनालाई पक्राउ गरिएको र उनीहरुबाट ३० लाख ६५ हजार ६ सय ६० रुपैयाँ बरामद गरिएको छ । भन्सार छलेर भारतबाट विभिन्न मालसामानको तस्करी गर्दै गरेको अवस्थामा मोटरसाइकल, बोलेरो, ट्रक, टेम्पो, कार, स्कुटर र साइकल गरी १ सय ४१ वटा सवारी साधन नियन्त्रणमा लिइएको र सोक्रममा ४४ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।

विभिन्न मुद्दा र कसुरमा पक्राउ परेकाहरुमाथि कारबाही गर्दा एक वर्षमा ४ करोड ९१ लाख ९३ हजार ४ सय ५६ रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । त्यस्तै जिल्लाभरका प्रहरी कार्यालयहरुबाट एक वर्षको अवधिमा २३ हजार ५ सय ६९ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ ।

सो क्रममा ५ हजार १७ उजुरी तथा ठाडो निवेदन दर्ता भएको र त्यसमध्ये ४ हजार २ सय फर्छ्यौट भइसकेको छ । मिटरब्याजसम्बन्धी १ हजार ५ सय ७५ उजुरी परेकोमा ४८ वटा मात्र फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालय गौरको प्रगति विवरणमा उल्लेख छ । जघन्य अपराधतर्फ विभिन्न १३ वटा मुद्दामा सफल अनुसन्धान गरी दोषी अर्थात अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise