
काठमाडौंः काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण गर्दा रैथाने प्रविधिमा जोड दिनुपर्ने बताएकी छन् । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपद्बाट बच्न सकिने बताइन् । भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ हरेक नागरिकको रहेको उनको भनाइ छ । भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने बताइन् । रैथाने प्रविधिमा सीप प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर गरिन् ।
उपप्रमुख डंगोलले नारामा मात्र नभइ पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिइन् । उनले प्रत्येक वर्ष नारामा मात्र नभइ नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताइन् ।