२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बालेनले मेयरबाट राजीनामा नदिने !

shivam cement
२०८२ माघ ४ गते १३:३९
Shares
बालेनले मेयरबाट राजीनामा नदिने !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट दिने भनिएको राजीनामा हाललाई रोक्ने निर्णय गरेका छन् । उनी आजै राजीनामा बुझाउने तयारीमा रहेको चर्चा भए पनि अन्तिम समयमा उक्त निर्णय स्थगित गरिएको हो ।

बालेन निकट स्रोतका अनुसार उम्मेदवारी दर्ता गरेपछि स्वतः पद निष्क्रिय हुने कानुनी प्रावधानका कारण तत्काल राजीनामा दिनुपर्ने बाध्यता नरहेको निष्कर्षमा उनी पुगेका हुन् । साथै पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन तालिकासम्बन्धी अनिश्चितताले पनि राजीनामा होल्ड गर्न भूमिका खेलेको बताइएको छ ।

मेयर पदबाट राजीनामा नदिई बालेन आज रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यक्रम रहेको छ । आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने केन्द्रीय समिति बैठकमा उनी सहभागी हुनेछन् । बैठकअघि दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने तालिका रहेको नेताहरूले बताएका छन् ।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने प्रक्रियालाई तीव्रता दिइरहेका बेला बालेन झापा–५ बाट चुनाव लड्ने तयारीमा छन् । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

नेपाली कांग्रेसको आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया प्रभावित हुनसक्ने आकलनपछि रणनीति फेरिएको बुझिएको छ ।

कांग्रेसको देउवा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता गुमाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सो रिटमा अन्तरिम आदेश आउन सक्ने सम्भावनाले निर्वाचन तालिका प्रभावित हुन सक्ने भएकाले बालेनले तत्काल राजीनामा नदिने निर्णय लिएको उनको सचिवालय स्रोतले जनाएको छ ।

आजै साँझ ५ बजे बालेन आफ्नो चुनावी कार्यक्रमका लागि जनकपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित खबर