काठमाडौं : वैदेशिक रोजगार कार्यालय, ताहाचल काठमाडौंले शुक्रबारदेखि संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत हुने श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट प्रदान गर्न शुरूवात गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगर कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने व्यवस्थाको शुभारम्भ गरे ।
मन्त्री श्रेष्ठले सकेसम्म छिटो छरितो सेवा प्रदान गर्ने मन्त्रालयको प्राथमिकतालाई सूचना प्रविधिको प्रयोग गरी अनलाइन प्रणालीले सहयोग पु¥याउने बताए । गत माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गर्दा कार्यालयमा अनावश्यक भिडभाड हटेको भन्दै मन्त्री श्रेष्ठले संस्थागत श्रम स्वीकृतिपछि कार्यालय पूर्णरूपमा ‘फेसले’ हुने विश्वास लिएको उल्लेख गरे ।
कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । कार्यालयबाट औसत प्रतिदिन एक हजार ५६५ जनाको अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि सूचना प्रविधिको प्रयोग गरी अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्दा रोजगारीका लागि विदेश जानेलाई सहज हुने धारणा राखे । वैदेशिक रोजगार प्रशासनलाई छिटो, छरितो र झन्झटमुक्त पारदर्शी बनाउन मन्त्रालयले सूचना प्रविधिको प्रयोग गरी अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्न थालेको भन्दै सचिव अर्यालले कर्मचारीले पनि सोही अनुसारको सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
कार्यालय प्रमुख रमेश अर्यालले श्रम स्वीकृतिलाई छिटो छरितो गर्न सेवा प्रवाहका ४ चरणलाई घटाएर २ चरणको बनाइएको जानकारी दिए । उनले चालु आर्थिक वर्षको चैतसम्ममा पुनः श्रम स्वीकृति, संस्थागत र व्यक्तिगत गरी ४ लाख ६४ हजार श्रम स्वीकृति जारी गरिएको बताए । त्यसमा पुनः श्रम स्वीकृतितर्फ २ लाख ११ हजार, संस्थागततर्फ २ लाख ३० हजार र व्यक्तिगततर्फ २३ हजार जनाको श्रम स्वीकृति भएको अर्यालले जानकारी दिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन प्रणालीले गर्दा सेवा प्रवाहमा व्यापक सुधार भएको दाबी गर्दै श्रम स्वीकृतिका सम्पूर्ण सेवा ‘फेसलेस’ बनाइसकिएको अवस्थामा बिना कारण म्यानपावर कम्पनीका कर्मचारी कार्यालयमा देखिए सम्बन्धित संस्था र व्यक्तिलाई सचेत गराउनेलगायतका कारबाही हुने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies