
काठमाडौं : २५औं सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपालले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
दिवसको पूर्वसन्ध्यामा बिहीबार बिहान सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकबाट सुरु भएको प्रभातफेरी स्वयम्भुनाथ परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले कार्यक्रममा सहभागी सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उपस्थितहरूलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालसहित संघका पदाधिकारीहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकासप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकहरू, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष तथा पदाधिकारीहरू, नायब महानिरीक्षक, वरिष्ठ अधिकृत तथा जवानहरू, नेपाल एपीएफ स्कुलका विद्यार्थीहरू, नेपाल प्रहरी तथा विभिन्न संघ–संस्था र स्थानीय क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपालले माघ ९ गते आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरेको छ ।

