
रौतहट : रौतहट जिल्लाको राजदेवी नगरपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ । राजदेवी नगरपालिका वडा नम्बर–१ स्थित श्री माध्यमिक विद्यालय पथरा अगाडि गौर–पिपरा सडक खण्डमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका दुवै मोटरसाइकल अनियन्त्रित भइ एकआपसमा ठोक्किएका थिए । दुर्घटनाको तीव्रताका कारण एक जना चालकको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का गम्भीर घाइते युवकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा दुर्गाभगवती गाउँपालिका वडा नम्बर–२ निवासी अशोक महतो र राजदेवी नगरपालिका वडा नम्बर–२ निवासी राजेन्द्र महतोका छोरा अन्दाजी २९ वर्षीय अरविन्द महतो रहेका छन् । अशोक महतोले बीआर ३० एएफ २३७० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चलाइरहेका थिए भने अरविन्द महतोले प्र.०२–०३–०१८ प २३४६ नम्बरको नेपाली नम्बर प्लेटको मोटरसाइकल चलाइरहेका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य व्यक्ति पनि घाइते भएको आशंका गरिएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र तीव्र गति दुर्घटनाको मुख्य कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
सडक सुरक्षाका दृष्टिले जोखिमपूर्ण मानिने उक्त सडक खण्डमा सवारी चालकहरूलाई सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । घटनासम्बन्धी थप विवरण र प्रहरीको आधिकारिक प्रतिवेदन आउन बाँकी रहेको छ ।