
काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको २३ वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सञ्चार क्षेत्रका विभिन्न निकाय र संस्थाले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा मध्यान्ह दैनिकले साढे दुई दशकदेखि सत्यतथ्य सूचना प्रवाहमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । लोकतन्त्र र पत्रकारिता एकअर्काका पूरक भएको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । राजनीतिक परिवर्तनपछि मुलुकको एजेन्डा आर्थिक समृद्धि र विकास भएको भन्दै त्यस यात्रामा नेपाली प्रेसको भूमिका अझ महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको तीव्र विकासको सन्दर्भमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत आमपाठकलाई विश्वसनीय सूचना प्रदान गर्न मध्यान्ह दैनिकलगायत सञ्चारमाध्यमले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै २४औं वार्षिकोत्सवको सफलताको कामना गरेका छन् ।
यसैगरी विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजारको संकुचन र प्रविधिगत परिवर्तनका चुनौतीबीच पनि मध्यान्ह दैनिकले आफूलाई अझ सशक्त र प्रभावकारी बनाउँदै भविष्यको गन्तव्य तय गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । सीमित विज्ञापन बजार र पुँजी अभावका बीच सञ्चारमाध्यमहरूले गम्भीर चुनौती व्यहोर्दै आएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रभित्रकै सहकार्य र समन्वयको आवश्यकता औंल्याएका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले संघीय राजधानीबाट नियमित रूपमा प्रकाशित मध्यान्ह राष्ट्रिय दैनिकले राष्ट्रिय ‘क’ वर्गको पहिचानसहित सत्य, तथ्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिँदै आएको भन्दै प्रशंसा गरेका छन् । नागरिकको सुसूचित हुने अधिकारलाई समृद्ध बनाउन पत्रिकाले अझ योगदान पुगोस् भन्ने कामना उनले गरेका छन् ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पनि मध्यान्ह दैनिकको निरन्तरता आफैंमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सीमित विज्ञापन बजार, सामाजिक सञ्जालको अनियन्त्रित प्रभाव र व्यावसायिक दबाबका बीच पनि पहिचान र विश्वसनीयता जोगाइराख्नु चुनौतीपूर्ण भएको बताएकी छन् । स्वतन्त्र, सुरक्षित र उत्तरदायी पत्रकारितामार्फत लोकतन्त्र सुदृढ गर्न मध्यान्ह दैनिकले आफ्नो यात्रालाई अझ मजबुत बनाओस् भन्ने अपेक्षा उनले व्यक्त गरेकी छन् ।
२३ वर्षको लामो यात्रापछि २४औं वर्षमा प्रवेश गरेको मध्यान्ह दैनिकले सत्यतथ्य, विश्वसनीय र जिम्मेवार पत्रकारितामार्फत नागरिकलाई सुसूचित गर्ने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।


