काठमाडौं : साउदी अरबको रियादस्थित नेपाली दूतावासले आगामी बुधबार अर्थात् अप्रिल २० तारेखदेखि मागपत्र प्रमाणीकरण गर्न शुरूवात गर्ने भएको छ । मुस्लिम समुदायको महानपर्व रमदानलाई कारण देखाउँदै साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले आगामी मे ६ तारेखसम्म प्रमाणीकरणका लागि रोजगारदाताबाट कुनै आवेदन दर्ता नगर्ने निर्णय सार्वजनिक गरेकोे थियोे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तदर्थ समितिका सदस्य रहेका संघका पूर्व अध्यक्ष प्रेम बहादुर कटुवाल र रियादस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख दिलिप कुमार पौडेलबीच मागपत्र प्रमाणीकरण रोकिँदा उत्पन्न समस्याको बारेमा सोमबार छलफल भएपछि दूतावासले बुधबारदेखि मागपत्र प्रमाणीकरण शुरूवात गर्ने प्रतिवद्धता जनाएको हो ।
साउदी अरबको रियादस्थित नेपाली दूतावास र जेद्धास्थित कन्सुलर कार्यालयले नेपाली कामदारका लागि रोजगारदाताले पेश गरेका मागपत्र प्रमाणीकरण गर्ने गरेका छन् । कार्यवाहक राजदूत पौडेलले बुधबारदेखि रियादबाट मात्र मागपत्र प्रमाणीकरण गर्ने जानकारी दिएको पूर्वअध्यक्ष कटुवालले मध्यान्हलाई जानकारी दिए ।
राजदूत पौडेलले साउदी अरबका केही कम्पनीहरूमा समस्या रहेको भन्दै ती समस्याहरूको समाधान र मागपत्र प्रमाणीकरणको कामलाई पनि अघि बढाउने बताएको पूर्वअध्यक्ष कटुवालले बताए ।
कार्यवाहक राजदूत पौडेललाई उदृत गर्दै कटुवालले भने, ‘मागपत्र प्रमाणीकरण शुरू गर्ने भएकोले व्यवसायीहरूले पहिलेकै प्रक्रिया पूरा गरेर फाईल पेश गर्न सक्ने जानकारी दिनुभएको छ ।’
दूतावासले मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै मागपत्र प्रमाणीकरण गर्ने कार्य एक महिनाभन्दा बढी समय स्थगित गरेपछि धेरै वैदेशिक रोजगार व्यवसायीहरूले दूतावासको कार्यलाई गैर जिम्मेदार कार्य भन्दै टिप्पणी गरेका थिए ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोकेर नेपाली व्यवसायीमाथि परेको मर्कालाई लिएर आवाज नउठाएको भन्दै कतिपय व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पनि आलोचना गरेका थिए ।
कोरोना भाइरसको संक्रमण कम भएको र खोप लगाउनेहरू बढेपछि साउदी अरबले विदेशी कामदारका लागि ढोका खोलेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत माघ महिनामा १४ हजार २ सय ३७ जना र फागुन महिनामा ९ हजार १ सय ६० जना साउदी अरेबिया गएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies