
काठमाडौं : फुटबल मैदानमा फिफा सहायक रेफ्रीको रूपमा सक्रिय मरिना धिमाल सशस्त्र प्रहरी बल (एपीएफ) मा हवल्दार पदमा पदोन्नति भएकी छन् ।
लामो समयदेखि खेलकुद र सुरक्षा सेवामा एकसाथ सक्रिय रहँदै आएकी धिमालको पदोन्नतिलाई उनको निरन्तर मेहनत र व्यावसायिक क्षमताको परिणामका रूपमा लिइएको छ ।
सशस्त्र प्रहरी बलमा कार्यरत धिमालले सन् २०२४ देखि २०२६ सम्म फिफा सहायक रेफ्रीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रतिनिधित्व गरिरहेकी छन् ।
फिफाबाट मान्यता पाएपछि उनले एएफसी एलाइट रेफ्रीको सूचीमा समेत स्थान बनाउँदै आफ्नो क्षमता प्रमाणित गरेकी हुन् ।
पछिल्ला दुई वर्षमा उनले चारवटा ठूला एएफसी प्रतियोगितामा सहायक रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् । यस क्रममा उनले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको उपस्थिति मजबुत बनाउन योगदान पुर्याएकी छन् ।
प्रहरी सेवाको नियमित ड्युटी र रेफ्रीको कडा शारीरिक तथा प्राविधिक प्रशिक्षणलाई सँगसँगै व्यवस्थापन गर्दै आएको बताइन्छ । व्यस्त तालिकाका बाबजुद उनले दुवै क्षेत्रमा आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्दै आएकी छन् ।
उनको पदोन्नतिले नेपाली फुटबल र सशस्त्र प्रहरी बल दुवै क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । विशेषगरी खेलकुदमा सक्रिय महिला सुरक्षाकर्मीहरूका लागि मरिना धिमाल प्रेरणाको उदाहरण बनेकी छन् ।