
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग रणनीतिक छलफल गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता बालेनले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् । बालेनले उम्मेदवारहरूसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरूले बताए ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे बालेनले जानकारी लिएको बताइन् । उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् । उनकाअनुसार बालेनले उम्मेदवारहरूलाई आफूहरूको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनताका समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।
उहाँले भन्नुभयो, ‘उहाँले हामीहरूसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरूको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’
पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् । उनले भनिन्, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’
रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन बालेनसँग भेट भएको बताए । उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । उनले आफूहरू सौहार्दपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्साथ गरेको पाइएको पनि बताए ।
उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङका लागि म आएको थिएँ । हामी सौहार्द्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौं । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ ।’
अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेता साहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।