२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

थुम्केरानी आहाल भञ्ज्याङ्ग : एकै स्थानबाट सूर्योदय, सूर्यास्त र रेडपाण्डा अवलोकन

shivam cement
२०८२ माघ १३ गते २१:२८
Shares
थुम्केरानी आहाल भञ्ज्याङ्ग : एकै स्थानबाट सूर्योदय, सूर्यास्त र रेडपाण्डा अवलोकन

इलाम : आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएसँगै इलामको माईजोगमाई गाउँपालिका–२ स्थित थुम्केरानी आहाल भञ्ज्याङ्ग क्षेत्र निजी लगानीको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमश्रृंखलासँगै यहाँबाट एकै स्थानमा उत्कृष्ट सूर्योदय र सूर्यास्त दुवै दृश्य अवलोकन गर्न सकिने विशेषताले यस क्षेत्रको पहिचान थप बलियो बनेको छ । स्थानीयवासी र पर्यटकका अनुसार यहाँको सूर्योदय दृश्य इलामकै चर्चित अन्तु डाँडाभन्दा पनि खुला र प्रभावशाली मानिन्छ ।

पर्यटन व्यवसायबाट आम्दानी सम्भव देखिएपछि झापा र काठमाडौंका व्यवसायीले संयुक्त रूपमा ६८ रोपनी जग्गा खरिद गरी आधुनिक पूर्वाधार निर्माण गरेका छन् । सो लगानीबाट ‘थुम्केरानी एग्रो टुरिजम रिसोर्ट’ सञ्चालनमा आएको हो । यसअघि आहाल भञ्ज्याङ्ग क्षेत्रमा पर्यटकको आकर्षण भएपनि व्यवस्थित सेवा र पूर्वाधारको अभाव रहेको थियो । अहिले आवास, खानपान र स्थानीय स्वादमा आधारित व्यवस्थित आतिथ्य सेवा उपलब्ध भएको छ ।

No description available.

पर्यटन व्यवसायी लिला बल्लभ आचार्यका अनुसार इलाम, झापा र काठमाडौंका व्यवसायीको सामूहिक लगानीले उत्तरी इलामको पर्यटनलाई नयाँ गति दिएको छ । ‘हिउँ पर्ने नजिकको भू–भाग, फराकिलो भ्यू पोइन्ट, एकै स्थानबाट देखिने सूर्योदय–सूर्यास्त र अन्तु डाँडाभन्दा आकर्षक सूर्योदय दृश्यले यहाँ पर्यटकको आकर्षण तीव्र भएको छ,’ उनले भने । 

आन्तरिक पर्यटक यहाँको हरियाली, शान्त वातावरण र प्राकृतिक दृश्यमा रमाउँछन् भने बाह्य पर्यटक वन, वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका लागि आउने गरेका छन् । आहालभञ्ज्याङ्ग क्षेत्र रेडपाण्डा जस्ता लोपोन्मुख वन्यजन्तुको प्राकृतिक बासस्थानका रूपमा समेत परिचित छ । साथै सयौँ प्रजातिका चराको उपस्थितिले यो क्षेत्र जैविक पर्यटन र अध्ययनका लागि उपयुक्त गन्तव्य बनेको छ ।

No description available.

थुम्केरानी एग्रो टुरिजमका लगानीकर्ता तथा स्थानीय व्यवसायी सिरोज नेपालले भने, ‘पर्यटकलाई आधुनिक सुविधा उपलब्ध गराउँदै स्थानीय उत्पादन र परम्परागत स्वादमा आधारित अतिथि सत्कार गरिँदै आएको छ । पर्यटनसँगै कृषि, रोजगारी र स्थानीय अर्थतन्त्रलाई जोड्ने उद्देश्य राखिएको छ ।’

माइजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष जीतबहादुर राईका अनुसार निजी क्षेत्रको लगानीले आहालभञ्ज्याङ्ग मात्र नभइ उत्तरी इलामका अन्य पर्यटकीय क्षेत्रलाई पनि जोड्ने काम गरेको छ । झापाबाट आउने पर्यटकले कन्याम र अन्तु डाँडाको भ्रमणपछि माईजोगमाई गाउँपालिकाको नयाँबजारमा रहेको नेपालकै अग्लो गणेश मूर्तिको दर्शन गरेर सोही दिन थुम्केरानी आहालभञ्ज्याङ्ग पुग्न सक्नेछन् । 

No description available.

थुम्केरानीमा बसाइँपछि पर्यटकले सन्दकपुरतर्फ यात्रा गर्न वा सोही मार्ग हुँदै झापा फर्किन सक्ने विकल्प रहेको उनले बताए । यसरी कन्याम–अन्तु–नयाँबजार–थुम्केरानी–सन्दकपुर मार्गलाई एउटै यात्रामा समेट्न सकिने भएकाले झापा र काठमाडौं दुवै क्षेत्रका पर्यटकका लागि यो मार्ग व्यावहारिक र आकर्षक बनेको छ ।

परियोजनाका लगानीकर्तामध्ये एक युवा व्यवसायी मुकेश भण्डारीले भने, ‘एकै स्थानबाट सूर्योदय र सूर्यास्त दुवै हेर्न सकिने, रेडपाण्डा जस्ता दुर्लभ वन्यजन्तु अवलोकनको सम्भावना र सहज यात्राले यहाँको पर्यटन सम्भावना निकै बलियो बनाएको छ ।’

प्राकृतिक सौन्दर्य, जैविक विविधता र निजी क्षेत्रको सक्रिय लगानीले थुम्केरानी आहालभञ्ज्याङ्ग अब काठमाडौं र झापा दुवै क्षेत्रका पर्यटकका लागि प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।

No description available.No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर