
काठमाडौं : नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ । बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ ।
यसैबीच, काठमाडौं उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप ‘आइक्युएयर’का अनुसार काठमाडौंको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ ।







