२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राष्ट्रिय सभा शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

shivam cement
२०८२ माघ १४ गते १४:३२
Shares
राष्ट्रिय सभा शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सदस्यहरूले सडकको कमजोर अवस्था, जाजरकोटका भूकम्पपीडितले हालसम्म राहत नपाएकादेखि लिएर निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि लाग्न नहुने धारणा राखेका हुन् ।

सदस्य कमला पन्तले २०७२ सालको भूकम्पमा परेका भूकम्पपीडितले केही राहत पाए पनि जाजरकोट भूकम्पका परेका पीडितले अहिलेसम्म पनि राहत नभएका भन्दै ती नागरिकलाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य नारायणदत्त मिश्रले देशको धेरैजसो स्थानका सडकहरूको अवस्था कमजोर हुनुका साथै खल्डाखुल्डी भएर कारण यात्रा गर्न कठिन भएको भन्दै डोटी जिल्लामा कालोपत्र गर्ने भनिएको सडक त्यतिकै अलपत्र परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सदस्य भुवनबहादुर सुवारले अघिल्लो आर्थिक वर्षमा दलितका लागि छुट्याइएको बजेट त्यतिकै फ्रिज भएको स्मरण गराउँदै वर्तमान सरकारको अर्थमन्त्रालयले दलित समुदायका लागि रु ५० करोड विनियोजन गरेकामा तत्काल त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।

सदस्य युवराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग गर्दै मुलुकमा सुशासन कायम गर्नका लागि सरकारमा बस्ने व्यक्ति पारदर्शी हुनुपर्नेमा जोड दिए । सदस्य राजेन्द्रलक्ष्मी गैरेले देशका विभिन्न क्षेत्रमा सडकको अवस्था दयनीय भएको बताउँदै सडक निर्माणमा ध्यान नदिँदा यात्रुले समस्या भोग्नुपरेको परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय सभाका सदस्य सुरेशकुमार आलेमगरले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ठूलो जनधनको क्षति भएको हुनाले उक्त घटनाका विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर