
सुर्खेत : कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु हुँदै छ । गत साउन २१ गते छैटौँ अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले यो अधिवेशन आह्वान गरेका हुन् ।
आज दिउँसो १ बजे बस्ने पहिलो बैठक मुख्य रूपमा नयाँ कानुन निर्माणमा केन्द्रित रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस पटकको अधिवेशन नियमित प्रदेशसभा भवनमा नभई वैकल्पिक स्थानमा सञ्चालन गरिँदै छ । गत भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय र संसद् भवनमा व्यापक तोडफोड तथा आगजनी भएको थियो ।
आन्दोलनकारीको भौतिक आक्रमणबाट भवनका फर्निचर, कम्प्युटर, इलेक्ट्रोनिक्स सामग्री र सवारीसाधनमा गरी करिब ३ करोड ९४ लाख १६ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदन सार्वजनिक भएको छ ।
मुख्य संसद् भवन अझै पुनर्निर्माणको चरणमा रहेकाले हाललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्ने व्यवस्था मिलाइएको छ ।
उक्त हलमा सभामुख, उपसभामुख, सत्तापक्ष, प्रतिपक्ष र सांसदहरूका लागि आवश्यक रोष्टम, साउन्ड सिस्टम र बसाइ व्यवस्थापनका कामहरू सम्पन्न गरी ‘कामचलाउ’ संसद कक्ष तयार पारिएको छ ।