
काठमाडौं : आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनमै सञ्चालन हुने भएको छ ।
निर्वाचनपछिको संसद् सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद् भवन उपलब्ध गराउने जानकारी गराइसकेको संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए । उनकाअनुसार प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधीन संसद् भवनबाटै सञ्चालन हुनेछ ।
प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए ।
उनले निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए । उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद् सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए ।
यसअघि संसद् बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुनर्निर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९औं अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।