
काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका छन् ।
सोमवार पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा उनले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका छन् । उनले विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई पाँच प्रतिशत बजेट अनिवार्य रूपमा अनुसन्धानमा खर्च गर्न निर्देशन दिइसकिएको जानकारी दिए ।
अनुसन्धानमा बजेट खर्च गर्ने प्रयोजनका लागि विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्र पठाउने तयारी समेत गरेको उनले बताए । उनले पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पनि आग्रह गरे । यसले सिंगो त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने उनको भनाइ छ । उनले विश्वविद्यालयले हाल दुई वटा प्रमुख कार्यक्रम अघि सारेको जानकारी दिए । उनकाअनुसार विश्वविद्यालयका सम्पूर्ण अभिलेखहरू डिजिटल रूपमा सुरक्षित गर्ने उद्देश्यसहित डिजिटाइजेशन प्रक्रिया सुरु भइसकेको छ ।
यसका लागि आवश्यक सफ्टवेयर खरिद गर्न टेण्डर आह्वान गरिएको उनले जानकारी दिए । उनले विश्वविद्यालयको संरचनात्मक पुनर्संरचना गर्न लागिएको बताए । यसका लागि क्याम्पसहरुको सहयोग आवश्यक रहेको उनको भनाइ छ । उनले विश्वविद्यालयले क्याम्पसका प्राध्यापकहरूको स्तर निर्धारणसम्बन्धि मापदण्ड सिनेटबाट अनुमोदन गरेको पनि जानकारी दिए । कलेज नविकरण प्रक्रियामा देखिँदै आएको प्रशासनिक झन्झट हटाउन आवश्यक प्रक्रिया सुरु गरिएको बताए ।