– लेखराज रेग्मी, देउखुरी, दाङ
जब स्वेरकल्पनामा मैले
ठुलै बाघ पल्टाएर
जुँगा उखेल्दै गरेको
मलाई देखिरहेको हुन्छु
तिमी मलाई झस्काएर ब्यूँताउने नगर
त्यो स्वप्निल आनन्द नखोस् ।
हो मौसम चुनावको छ, थाहा छ
भोट जनतासँग छ, थाहा छ
पसिनाजस्तै किनबेच हुन्छ, थाहा छ
डर पसेकाहरु पछि लागेर आउछन्
धन बोकेर भेटी चढाउँछन्, थाहा छ ।
मन मरेकाहरु जुट्दैनन् आफ्ना लागि
मलाई थाहा छ, के गर्नुपर्छ उनीसँग
निष्ठा निरिह छ, आज हो नसिकाउ
सेवा शासन होइन बुझेनौ की
सत्ता सेवा होइन बुझिराख मबाट
मलाई सबै दाउपेच थाहा छ
भो भद्रताका पाठ नपढाउ अब
म मेरो लागि उस्को पाउ पर्न सक्छु
घाँटी जोडेर उभिन सक्छु तर
फजुल निहुँ खोजेर तिम्रो लागि म
दुश्मन बनाउन सक्दिन उसलाई
तर उ तिम्रो हुनै सक्दैन थाहा छ ।
म बाहेक को छ र तिम्रो यो दुनियाँमा
स्वयम् तिमी आफु बाहेक जानि राख
र त तिमी मलाई भरोसा गर्छौ आफुभन्दा
यो त उसलाई पनि राम्रैसँग थाहा छ
र थाहा छ मलाई मेरै दुनियाँ बसाउने मन छ
होशियार बन, तिमीलाई भड्काउन
वर्गको कुरा बोकेर एकथरी मानिसहरु
हकको लडाईको गफसफ गर्न आउन सक्छन्
म फेरिएको कहानी सुनाउन सक्छन्
मेरो निजी जिन्दगीको बात बनाउन सक्छन्
ती तिम्रा दुश्मन हुन जसले तिम्रो लागि
आफै संगठित हुने कुरा गर्नेछन्
जस्ले आफ्नै लागि लड्नुपर्ने गीत गाउनेछन्
यी मेरा सपनाका बैरीहरु दुश्मन हुन तिम्रा
किन कि उनी सपनाको व्यापार गर्न नसकेर
मेरो सपनाको संसार भत्काउन खोजिरहेका छन्
म सपना बाँडेर बिपना बटुल्ने व्यापार चाहान्छु
तिम्रा इमानका इट्टा बिछ्याएर
स्वप्नमहल उठाउन खोजिरहेको छु ।
साझा सपना बेचेर अचेल म थोरै सुकुन बाच्न
मलाई मेरो स्वप्न निद्रा नबिथोल
म नाथे रंगमञ्चको राम मनोरञ्जन त दिइरहनसक्छु
तर सक्दिन पौरख खर्चेर तिम्रो लागि म
नयाँ र सुन्दर संसार दिन सायद सक्दैन तर
बोल्नै सक्दैन यहि कुरा तिमीसँग
ढाट्नको लागि मलाई पनि
तिमी जस्तै चाहिएको छ ।
एक बथान अन्धविश्वासीहरु
भो नसोध नसिकाउ र नबिथोल
अन्ध विश्वास जति सुन्दर
अर्को कुनै कुरा चाहादैन तिमीबाट
भो नझक्झकाउ र नखोज जगाउन
मैले जानाजान जे गरिरहेको छु
सोची विचारी गरिरहेको छु ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies