२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

निर्वाचन सुरक्षाका लागि लमजुङमा ६९ थान इजाजतप्राप्त हतियार संकलन

shivam cement
२०८२ माघ २० गते १३:०२
Shares
निर्वाचन सुरक्षाका लागि लमजुङमा ६९ थान इजाजतप्राप्त हतियार संकलन

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ जिल्लामा इजाजत लिएर राखिएका हातहतियार संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सोहीक्रममा हालसम्म ६९ थान नाल भरुवा बन्दुक प्रहरी प्रशासनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इजाजतप्राप्त हतियार अस्थायी रूपमा प्रहरीको जिम्मा लगाउन निर्देशन दिएको थियो। उक्त निर्देशनपछि सम्बन्धित व्यक्तिहरूले आफूलाई नजिक पर्ने प्रहरी चौकीमा पुगेर हतियार बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार कुन्छा क्षेत्रबाट ९ थान, भोटेओडारबाट ७ थान, भोर्लेटारबाट १३ थान, सुन्दरबजारबाट ५ थान र चितीबाट ४ थान हतियार संकलन गरिएको छ । त्यस्तै तीनपिल्लेबाट ८ थान, गौंडाबाट २ थान, जगतबाट २ थान, भकुण्डेबाट ५ थान, दुरडाँडाबाट १ थान तथा बेँसीसहरबाट १४ थान हतियार बुझाइएको विवरण प्रहरीसँग छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लाभर एक हजारभन्दा बढी इजाजतप्राप्त हतियार रहेको अनुमान भए पनि हालसम्म सीमित संख्यामा मात्र हतियार बुझाइएको छ। यस सन्दर्भमा प्रशासनले माघ ६ गते सार्वजनिक सूचना जारी गर्दै सबै हतियारधनीलाई हतियार बुझाउन आग्रह गरेको थियो ।

निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै माघ २० गतेभित्र हतियार बुझाउन अनुरोध गरिएको भए पनि प्रशासनले तोकेको समयसीमा अनुसार मंगलबारसम्म हतियार बुझाउने अवसर बाँकी रहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर