
काठमाडौं : विगतका निर्वाचनमा कांग्रेस–एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको ओखलढुंगामा यसपटक नेकपा र रास्वपाका उम्मेदवार पनि थपिएका छन् । जसका कारण पूर्वी पहाडी यस जिल्लाको चुनावी प्रतिस्पर्धा चार पक्षीय हुने देखिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १३ राजनीतिक दल र दुई स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । २०४८ यताका तीन चुनावमा नेपाली कांग्रेसले जित्दै आएको ओखलढुंगा २०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादीले दुवै सिट जितेको थियो । २०७० मा कांग्रेस–एमालेले एक/एक सिट बाँड्दा क्षेत्र नम्बर १ मा एमालेका यज्ञराज सुनुवार र २ मा कांग्रेसका रामहरि खतिवडाले जित हासिल गरेका थिए । संविधान जारी भएपछि एउटा निर्वाचन क्षेत्रमा खुम्चिएको ओखलढुंगामा २०७४ मा कांग्रेसका रामहरि खतिवडालाई हराउँदै एमालेका यज्ञराज सुनुवार दोहोरिए । त्यसको बदला खतिवडाले २०७९ को चुनावमा साढे ६ हजार मतान्तरले जितेर लिए । खतिवडा ३३ हजार ५ सय ५६ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका थिए । त्यतिबेला कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनका कारण खतिवडालाई सहज भएको थियो । लोकप्रिय मतमा भने एमाले अगाडि थियो । समानुपातिकतर्फ एमालेले २५ हजार २ सय ४५ मत ल्याउँदा कांग्रेसले २३ हजार ९ सय ९९, माओवादी केन्द्रले ७ हजार १ सय ७२ र रास्वपाले २ हजार ४ सय १८ मत ल्याएका थिए ।
पालैपालो जित्दै आएका कांग्रेस र एमालेलाई यसपटक भने त्यति सजिलो देखिँदैन । यी दुई दलमा आएको विवाद र रास्वपा तथा नेकपाका उम्मेदवारले ल्याएको तरंगले चुनावी नतिजा प्रभावित पार्न सक्ने देखिएको छ । विगतमा आलोपालो जित्दै आएका कांग्रेसका खतिवडा र एमालेका सुनुवार दुवै यसपटक चुनावी मैदानमा छैनन् । यद्यपि आफ्नो दलका उम्मेदवारलाई जिताउनुपर्ने चुनौती भने उनीहरूलाई देखिन्छ ।
कांग्रेसले कुमार लुईंटेल, एमालेले अस्मिता थापा, रास्वपामा विश्वराज पोखरेल र नेकपाका अम्बिरबाबु गुरुङ चुनावी मैदानमा छन् । लुईंटेल पहिलोपटक जनप्रतिनिधिका लागि चुनाव लड्दै छन् । एमालेकी थापाले लिखु गाउँपालिका उपाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधि सभा ताकेकी छन् भने उनले टिकट पाएपछि नेकपामा प्रवेश गरेर गुरुङ उम्मेदवार बनेका छन् । गुरुङ २०७४ को निर्वाचन एमालेबाट ओखलढुंगा क्षेत्र ‘क’बाट प्रदेश सभा सदस्य हुँदै भौतिक मन्त्रीसमेत भएका थिए । रास्वपाका उम्मेदवार विश्वराज भने नेपाल प्रहरीको पूर्वएआइजी हुन् । चारै जना उम्मेदवार प्रतिनिधि सभा सदस्यमा उठेका नयाँ अनुहार हुन् ।
यसअघि प्रायः दुई पक्षीय चुनावी प्रतिस्पर्धा हुँदै आएमा यसपटक चार पक्षीय प्रतिस्पर्धा देखिएको ओखलढुंगाको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । ‘कांग्रेस–एमालेको पुरानै प्रतिस्पर्धा छँदै छ,’ पूर्वगाविस अध्यक्ष शंकर कटवालले भने, ‘रास्वपा र नेकपाका तर्फबाट पनि राम्रै उम्मेदवार मैदानमा देखिएका छन् ।’ पछिल्लोपटक रास्वपाको हावा र एमालेकै जिल्लास्तरीय नेताहरूसहित कोशी प्रदेशका पूर्वमन्त्री नेकपामा गएर उम्मेदवार बनेपछि निर्वाचन थप रोचक बन्दै गएको उनी बताउँछन् । तर मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेकै हुने उनको विश्लेषण छ ।
१ लाख २२ हजार ७ सय १५ मतदाता रहेको ओखलढुंगामा ५९ हजार ८ सय ७१ महिला छन् । अघिल्लो निर्वाचनमा जिल्लामा १ लाख १८ हजार ३ सय ७६ जना मतदाता रहेकोमा यसपटक १ हजार ३ सय ३९ नयाँ मतदाता थपिएका थिए । यो निर्वाचनमा कम्तीमा ७०/७५ हजार मत खस्ने र चुनाव जित्न कम्तीमा २० हजारमाथि मत कटाउनुपर्ने अनुमान गरिएको छ ।
कांग्रेसका उम्मेदवार लुईंटेल पार्टी सभापति गगन थापानिकट मानिन्छन् । उनी कोशी प्रदेश समितिका सदस्य हुन् । विशेष महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व स्थापित भएपछि कांग्रेसमा फेरिएको समीकरणसँगै पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले टिकट पाएनन् । खतिवडाको मन खुम्चियो भने लुईंटेलको मतमा ह्रास आउने ओखलढुंगा कांग्रेसका नेताहरूको विश्लेषण छ । खतिवडा र पूर्वकेन्द्रीय सदस्य तथा कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रदीप कुमार सुनुवारले राम्रोसँग सहयोग गर्दा लुईंटेलको जितलाई कसैले रोक्ने नसक्ने नेताहरूको दाबी छ । उम्मेदवार लुईंटेल पनि आफू जित्नेमा कुनै शंका नरहेको दाबी गर्छन् । ‘पार्टीले निर्णय नगर्दासम्म टिकटको प्रतिस्पर्धामा मसहित नेताहरू पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘पार्टीले निर्णय गरेर टिकट दिइसकेपछि हामी एकमतका साथ चुनावमा होमिएका छौं ।’
पूर्वएमाले नेता गुरुङ जिल्ला पदाधिकारीसहित नेकपामा प्रवेश गरेसँगै आफ्ना केही मत तान्ने एमालेका नेता कार्यकर्ताहरूको चिन्ता छ । उनीसँगै २९ जना जिल्लास्तरीय नेताले पार्टी छाडेपछि एमालेलाई धक्का लाग्न सक्ने आँकलन गरिएको छ । यद्यपि सांगठनिक रूपमा जरैसम्म पुगेको एमाले केही नेताको बहिगर्मनलाई स्वाभाविक रूपमा लिँदै चुनावी नतिजामा फरक नपर्ने एमाले नेताहरू बताउँछन् । एमाले उम्मेदवार थापा केही मानिसले पार्टी छाड्दैमा आमकार्यकर्ता र मतदाताले एमाले नछाड्ने दाबी गरिन् । लिखु गाउँपालिकाको उपाध्यक्ष छाडेर प्रतिनिधि सभा सदस्यको प्रत्यासी बनेकी थापालाई एमालेले जेनजी उम्मेदवारका रूपमा अघि सारेको एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।
नेकपा उम्मेदवार गुरुङ आफू प्रदेशमन्त्री भएर जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान गरेकाले मतदाताको पहिलो रोजाइमा पर्ने दाबी गर्छन् । ‘प्रदेशमन्त्री भएका बेला जिल्लामा मैले गरेको विकास र समृद्धिको योजना ठुलो छ,’ उनले भने, ‘ती योजनालाई अब संघीय संसदमा पुगेर पुरा गर्नकै लागि मैले उम्मेदवारी दिएको हुँ ।’
अर्का, प्रतिस्पर्धी रास्वपाका उम्मेदवार विश्वराज पोखरेल नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) हुन् । रास्वपाको माहोल देशभरि नै बढ्दै गएका बेला पोखरेल पनि जिल्लाका मतदाताबीच लोकप्रिय बन्दै गएका छन् । उनी मंसिर १२ गते रास्वपा प्रवेश गरेर १३ गतेदेखि ओखलढुंगामै छन् । ‘ओखलढुंगाका जनता परिवर्तनका पक्षमा लागेर मत बदल्ने योजनामा छन्,’ उनले भने, ‘मतदाताहरू आफैं पुरानालाई पटकपटक मत दियौं, अब नयाँलाई एकपटक हेर्ने र अवसर दिने भनिरहेका छन् । यसपटक म जित्नेमा ढुक्क छु ।’
विगतको मत परिणामका आधारमा पुराना पार्टीबाट उम्मेदवार बनेका थापा र लुईंटेलबीच मुख्य प्रतिस्पर्धा हुने दुई पार्टीका नेताकार्यकर्ताको भित्री विश्लेषण रहे पनि देशैभरि उदाउँदै आएको रास्वपा र नयाँ मतदाताको रुझानले ओखलढुंगाको नतिजा पनि प्रभावित हुन सक्ने आँकलन छ । प्रतिस्पर्धी मानिएका यी चार उम्मेदवारबाहेक जिल्लाबाट श्रम संस्कृति पार्टीबाट डा. उद्धवकुमार राई, उज्यालो नेपाल पार्टीबाट जेनजी अगुवा किशोरी कार्की, राप्रपा नेपालबाट डिकप्रसाद बास्तोला, जनता समाजवादी पार्टीबाट नेत्रबहादुर नेम्वाङ, मंगोल नेसन अर्गनाइजेसनबाट बजेन्द्र वाम्बुले राई, मितेरी पार्टी नेपालबाट कुमारबहादुर तामाङ तथा स्वतन्त्र विक्रम दाहाल पनि प्रतिस्पर्धामा छन् । रास्वपाका जिल्ला नेतासमेत रहेका दाहाल टिकट नपाएपछि पार्टीबाट अपमान भएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।