
ललितपुर : ललितपुर क्षेत्र नम्बर २ मा राजनीतिक परिदृश्य थप रोचक बन्दैछ । अघिल्लो निर्वाचनमा करिब ९ हजार मत प्राप्त गर्दै उपविजेता बनेका डा. सुदिन शाक्यले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेललाई आफूले समर्थन गर्ने घोषणा गरेका छन् ।
डा. शाक्य अघिल्लो निर्वाचनमा लौरो चुनाव चिह्न लिएर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका थिए । उनले व्यक्तिगत लोकप्रियताका कारण मतदातामा विशिष्ट पहिचान बनाएका थिए । उनले कुल ८ हजार ८ सय ८६ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ८ हजार ६ सय ६६ मत प्राप्त गरेका थिए ।

मेडिकल डाक्टरसमेत रहेका शाक्य आफ्नो स्वास्थ्य र जनसेवा क्षेत्रमा योगदानका कारण परिचित छन् । अघिल्लो निर्वाचनमा ललितपुर-२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए । उनले १५ हजार २५ मत प्राप्त गरेका थिए । शाक्य त्यसपटक उपविजेता बनेका थिए ।
हालै शाक्य र खरेलबीच भएको भेटमा डा. शाक्यले यसपटक खरेललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
राजनीतिक विश्लेषकहरूले यस कदमले खरेलको जितको सम्भाव्यता अझ बलियो बनाउने बताएका छन् । अघिल्लो तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवारको मत खरेलतर्फ सरेको खण्डमा यसले राजनीतिक समीकरणमा निर्णायक प्रभाव पार्ने छ । यस समर्थनले खरेललाई मतदातामा विश्वास र लोकप्रियता दुवै मजबुत बनाउन मद्दत गर्ने विश्लेषकहरूको भनाइ छ ।