
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको नेपाली कांग्रेसले देशलाई पनि बदल्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले कांग्रेसलाई नयाँ रूप, नयाँ सोच र नयाँ ऊर्जा सहित अघि बढाइएको उल्लेख गरेका हुन् ।
सभापति थापाले कांग्रेस २.० को अवधारणासहित पार्टीलाई पुनर्संरचना गरिएको भन्दै पुरानो कांग्रेसका असल अभ्यासलाई आत्मसात् गरेर कमजोरीहरू त्यागिएको बताए । “नेपाली कांग्रेस बदलेर आएका छौं, यसले देश बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, कांग्रेस २.० हो,” उनले भने, “पुरानो कांग्रेसका सबै असल कुरालाई लिएका छौं, खराब कुरालाई छाडेका छौं ।”
सभापति थापाले बदलिएको कांग्रेसले अब सत्ताका लागि जोसँग पनि नमिल्ने बताएका छन् ।
देश परिवर्तनका लागि पार्टीलाई एउटा प्रभावकारी ‘एजेन्सी’ का रूपमा प्रयोग गर्न चाहेको उल्लेख गर्दै थापाले युवासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । “म तपाईंहरूसँग काम गर्न चाहन्छु, सँगै हिँड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो, यही एजेन्सी प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौं,” उनले भने ।
देशलाई अहिले सम्हाल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले नेपाललाई थप ध्वंशमा पर्न नदिने स्पष्ट पारे । “हामी बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ तपाईंहरूको माझ आएका छौं । हामी नेपाललाई सम्हाल्छौं, देशलाई थप ध्वंशमा पर्न दिँदैनौं,” थापाको भनाइ छ ।
उनले उत्तेजना र घृणाको राजनीति नगर्ने, सबैलाई मिलाएर अघि बढ्ने र शासन प्रणाली तथा कार्यशैलीमा सुधार गर्ने बताए । “हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौं, कुनै घृणाको राजनीति गर्दैनौं । हामी सबैलाई मिलाएर लैजान्छौं । मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई बदल्छौं र सुधार्छौं,” उनले भने ।
सभापति थापाले युवालाई भविष्यका नाममा मात्र सीमित नगरी सहयात्री र साझेदारका रूपमा अघि बढाइने बताए । “युवा भविष्य हुन् भनेर छाड्ने होइन, पार्टनर हुन् । सँगै हिँड्ने हो,” उनले स्पष्ट पारे ।
यसैबीच, थापाले रुखको छहारीमा बसेको भन्दै कानुन उल्लंघन गर्नेलाई कुनै संरक्षण नदिइने बताएका छन् । “नेता होस् वा नाताको, कानुन उल्लंघन गर्नेले संरक्षण पाउँदैन,” उनले भने । आमनागरिकका विषय प्राथमिकतामा रहने र कानुन सबैका लागि समान हुने व्यवस्था सुनिश्चित गरिने उनको भनाइ छ ।
कांग्रेसबाट टाढा रहेका, पार्टीमा नलागेका तथा बीचमै छोडेकाहरूलाई पुनः सक्रिय हुन आह्वान गर्दै थापाले सबैको विश्वास बोकेको पार्टी बनाएर देशमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । जेनजीले उठाएको युवालाई साथ लिएर हिँड्ने पार्टी बनाउने आह्वानअनुसार कांग्रेस परिवर्तन गरिएको भन्दै उनले नयाँ यात्रामा साथ दिन आग्रह गरे ।