
काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताएका छन् । झापावासीहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताए । उनले पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताए ।
उनले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको बताए । प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले गोली चलायो भन्नेहरु बेवकुफ वा अपराधी भएको उल्लेख गरे ।