
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयोग भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताएका हुन् ।
सानासाना बालबालिका चढेको बस प्रयोग गरी अभिभावकलाई चुनाव चिन्ह् र उम्मेदवारका पक्षमा प्रचार गराउनेजस्ता गतिविधि जिम्मेवार राजनीतिक दलले गर्न नहुने उनको भनाइ छ । उनले विशेषगरी चितवनमा निर्वाचनका लागि मत माग्न बालबालिकालाई प्रयोग गरेको भेटिएको जानकारी दिए ।
यस्ता गतिविधि रोक्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । चालिसेले अन्य केही दलका कार्यकर्ताले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको गुनासो आएको बताए । उनले फरक विचार राख्ने दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी र घृणा फैलाउने गतिविधि रोक्न पनि आग्रह गरे । यसले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै जाने उनको भनाइ छ ।
आफ्ना धारणा राख्दा सबै राजनीतिक दल र उम्मेदवारले मर्यादित भाषा र व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली कांग्रेस पनि यस विषयमा सचेत रहेको बताए ।
उनले निर्वाचनमा मतदान गर्नुअघि उम्मेदवार र राजनीतिक दलको पृष्ठभूमिका बारेमा जानकारी राख्न पनि आग्रह गरे । उनले असन्तुष्टिबाट नै अधिनायकवादको जन्म हुने उल्लेख गर्दै नेपालमा पनि सचेत रहन आग्रह गरे । उनले विगतमा गरेका काम र भविष्यमा गर्न सक्ने क्षमताको आधारमा मतदान पनि आग्रह गरे ।